• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

डाक्नेश्वरी नगरपालिकाको तालाबन्दी खुल्यो

आन्दोलनकारी युवाहरुसँग २२ बुँदे सहमति
डाक्नेश्वरी नगरपालिकाको तालाबन्दी खुल्यो

राजविराज, १२ पुस । गत मंसिर २९ गतेदेखि भएको सप्तरीको डाक्नेश्वरी नगरपालिका कार्यालयको तालाबन्दी शनिवारदेखि खुलेको छ । विभिन्न माग राखेर स्थानीय युवाहरुले संघर्ष समिति गठन गरी गरेको तालाबन्दी २२ वुँदामा सहमति भएपछि तालाबन्दीको कार्यक्रम फिर्ता भएको हो ।
आन्दोलनकारी युवाहरुसँग छलफल गरी समस्याको निकास दिन गठित वार्ता समितिकी संयोजक उप मेयर इन्दुदेवी यादवले शनिवारै ताला खोलेर आइतावरदेखि पूर्ववत रुपमा कार्यालय सञ्चालन हुने बताइन् । युवाहरुले कार्यालयमा भएको आर्थिक कारोवारको हरहिसाव सार्वजनिक गर्नुपर्ने, मोटरसाइकल खरिदको विवरण उपलब्ध गराउनुपर्ने, सार्वजनिक सुनुवाई हुनुपर्ने, मोवाइल तथा टेलिभिजन खरिद प्रावधानकाबारेमा स्पष्ट पार्नुपर्ने, नगरपालिकाको सरसफाईको लागि गरिएको खर्चको विवरण तथा कार्यक्रमबारे जानकारी दिनुपर्ने लगायतका माग राखेका थिए ।
नगरपालिकाले युवाहरुका माग सम्वोधनकालागि छलफलमा तदारुकता देखाएपछि तालाबन्दीको कार्यक्रमको फिर्ता भएको आन्दोलनरत युवा समूहका कृष्णानन्द यादवले बताए । उनले आफुहरुसित भएको सहमति एक साता अगाडी नै पूरा गरिनुपर्ने अन्यथा अझै कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।