राजविराज, ९ पुस । सप्तरीको राजविराज नगरपालिकामा ६ महिनादेखि प्रमुख कार्यकारी अधिकृत रहेका छैनन् । कार्यकारी अधिकृत नभएका कारण कार्यालयबाट सम्पादन हुने अत्यावश्यक तथा विकासीय काम पुर्ण रुपमा प्रभावित हुन पुगेको छ ।
प्रमुख कार्यकारी अधिकृत श्यामकुमार सिंह साउनदेखि नै कार्यालयमा नआएका कारण कामकाज प्रभावित भएको हो । सिंह कार्यालयमा बस्नुको साटो काठमाण्डौं वस्न थालेपछि नगरपालिकाका कर्मचारीले त्यही गएर चेकमा सहि गराई तलब खाने गरेको नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले बताए ।
कार्यालयमा अधिकृत नभएका कारण बोर्ड बैठक समेत बस्न नसकेको उनको भनाई छ । ‘दिनहुँ नक्सा पासकालागि सेवाग्राहीको कार्यालयमा भिड लाग्ने गर्छ’ मेयर यादवले भने– ‘तर, प्रमुख कार्यकारी अधिकृत नै नभएपछि कामै नगराई सेवाग्राही फर्किने गरेका छन् ।’ उनका अनुसार प्रमुख कार्यकारी अधिकृतको अनुपस्थितिका कारण नगरपालिकाले टेण्डर निकाल्न, उपभोक्ता समिति गठन लगायतका काम समेत हुन पाएको छैन ।
प्रमुख कार्यकारीसित सम्वन्धित काम लिएर बढीजसो सेवाग्राही कार्यालय आउने गरेको तर काम हुन नसकेपछि सेवाग्राहीलाई सम्झाएर फर्काउन आफुलाई हम्मेहम्मे परेको उनले वताए ।
कार्यकारी अधिकृतको ब्यवस्थाकालागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गएर मन्त्री, सचिव समेतलाई पटक पटक गहार्दा समेत आस्वासन सिवाय केहि नपाएकाले आफुलाई दिक्क लागेको उनले पीडा ब्यक्त गरे । ‘मैले वर्तमान तथा यस अघिका विभागिय मन्त्रीलाई पटक पटक आग्रह गरे’ उनले भने–‘हरेक साताजसो यसबारे फोनबाट ध्यानाकर्षण गराउँदा पनि काम हुन सकेको छैन ।’