राजविराज, २१ मंसिर । सप्तरीको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्यमा भईरहेको ढिलाईलाई दृष्टिगत गरी शनिवार १ सय ५१ सदस्यीय जन दवाव समिति गठन गरिएको छ ।
जनदवावकालागि वडा नम्वर १० को विरौलमा आयोजित जनसभा पश्चात सुखराम यादवको संयोजकत्वमा समिति गठन गरिएको हो । स्थानीय समाजसेवि सत्यनारायण यादवको अध्यक्षतामा आयोजित जनसभामा वक्ताहरुले सरकारद्वारा प्रतिष्ठान स्थापनाकालागि घोषणा गर्नुकासाथै केही काम अघि बढेपनि अहिले जग्गा सम्वन्धि विवादका कारण अवरोध आएको भन्दै चिन्ता समेत व्यक्त गरे ।
कार्यक्रममा तत्कालिन दिघवा गाविसका पूर्व अध्यक्ष भुपेन्द्र यादवले विकासको काममा दलगत स्वार्थभन्दा माथि उठेर सवैले सघाउनुपर्ने भन्दै प्रतिष्ठान स्थापनाकालागि एकतावद्ध भई दवाव सृजना गर्नु आवश्यक रहेको बताए । यसैगरी पूर्व प्रहरी नायव उपरीक्षक उपेन्द्र प्रसाद मण्डलले प्रतिष्ठानकालागि तत्काल ४० करोड रुपैयाँ छुट्याएर पनि काम अघि बढ्न नसकेको विषयमा सरकारलाई घचघच्याउनु जरुरी रहेको बताए । दवाव समूहका संयोजक सुखराम यादवले राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनामा आफुले हरतरहले सहयोग गर्ने भन्दै यसकालागि सवै पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिए ।
सरकारले सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको घोषणा गरेपछि यसकालागि प्रक्रिया अघि बढेको थियो । प्रतिष्ठान निर्माणकालागि राजविराज नगरपालिकाले वडा नम्वर १० को विरौलमा ६१ विघा जग्गा उपलब्ध गराउने भएपछि सरकारले गठन गरेको ७ सदस्यीय सम्भाव्यता अध्ययन समितिले गत वैशाख ६ गते स्थलगत अनुगमन गरी प्रारम्भिक प्रतिवेदन समेत वुझाएको थियो । यसै क्रममा प्रतिष्ठान निर्माणकोलागि राजविराजमा पूर्वाधार तयारी विकास समितिको कार्यालय समेत गत असार १८ गते उद्घाटन भई सञ्चालनमा आएको थियो ।
शैक्षिक प्रशासनिक आवास, कवर्ड हल, बगैँचा, स्वीमिङ्ग पुल लगायतका संरचना निर्माण गरिने अध्ययन समितिका संयोजक समेत रहेका चिकित्सा विज्ञान प्रतिष्ठानकालागि शिक्षाध्यक्ष डा.सुवोध अधिकारीले सञ्चारकर्मीहरुलाई जानकारी दिएका थिए । तर नगरपालिकाले उक्त जग्गाकै केही भाग यसअघि नै कृषि हाट बजार लगाउन राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्थालाई सहमति दिएको कारणले विवाद उत्पन्न भएको थियो ।
विवादकै कारण सो जग्गा प्रतिष्ठानकालागि नाममा आउन नसक्दा काम अघि बढ्न सकेको थिएन । शनिवारको जनसभामा सहकारी संस्थाका अध्यक्ष सुखराम यादवले प्रतिष्ठान स्थापनाको काममा आफ्नो संस्था वाधक नबन्ने बताएपछि उनकै संयोजकत्वमा जनदवाव समिति गठन गरिएको हो ।