राजविराज, २१ मंसिर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा शनिबार राजविराजमा रक्तदान कार्यक्रम आयोजना गरियो ।
‘ समानताको पुस्ता ः बलात्कार विरूद्ध ऐक्यबद्धता’ नारासहित मङ्सिर ९ गतेदेखि प्रत्येक दिन फरक कार्यक्रम गर्दै आएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समिति, सप्तरीको कार्यक्रम अनुसार इन्सेकको संयोजनमा गजेन्द्र चोकमा रक्तदान कार्यक्रम आयोजना गरियो । रक्तदान कार्यक्रममा २१ पाउण्ड रगत संकलन भएको रक्तसञ्चार केन्द्र राजविराजका दिलिप यादवले जानकारी दिएका छन् ।
इन्सेक सप्तरी प्रतिनिधी मनोहरकुमार पोखरेलको अध्यक्षता एवम प्रदेश २ लोकसेवा आयोगकी सदस्य प्रा. डा. सुजाता देवको प्रमुख आतिथ्यमा आयाजित कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनीता देवकोटा, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, उच्च अदालत बार एकाई राजविराजका सदस्य पार्वती राउत, अधिवक्ता मनु खनाललगायतले रक्तदान र मर्यादित महिनावारीका विषयमा मन्तव्य व्यक्त गरे ।
मर्यादित महिनावारी दिवसको अवसरमा ‘लैङ्गिकतामा आधारित हिंसा न्यूनिकरण गर्न र मानवअधिकारको लागि मर्यादित महिनावारी’ नारासहित आयोजित रक्तदान कार्यक्रममा वक्ताहरूले लैङ्गिकतामा आधारित हिंसाको कारक बनेको महिनावारीको सामाजिक अभ्यास परिवर्तन गरी मर्यादित बनाउनुपर्नेमा जोड दिए । महिनावारी रोकिए संसार रोकिने भएकाले महिनावारीलाई मर्यादापूर्वक हेर्ने दृष्ट्रिकोण स्थापित गर्नुपर्ने वक्ताहरूले मन्तव्य व्यक्त गरे । मर्यादित महिनावारी दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गर्नाले सकारात्मक सन्देश जानुका साथै रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति उद्धव न्यौपाने, इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेल, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनिता देवकोटा, अधिवक्ता पार्वती राउत, एकल महिला समूहकी गीता पाण्डे, पत्रकारहरू अर्जुन साह, अम्बिका दाहाललगायतले रक्तदान गरे । यसैगरी पंकज सरकार, रामनारायण मण्डल, राघव पोखरेल, विशाल मिश्र, पिताम्बर यादव, दिपककुमार देव, जिल्ला प्रहरी कार्यालयका गोकुल परियार, रामकुमार वर्मा, सशस्त्र प्रहरी गणका सुरेश राई, टेकलाल बिरकट्टा, सप्तरी जिल्ला अदालतका विक्रम भुजेल, सन्दिपकुमार मेहतालगायतले रक्तदान गरे ।
राधा पौडेल फाउण्डेसन नेपालको पहलमा विश्वमै पहिलो पटक डिसेम्बर ८ को दिनलाई ‘मर्यादित महिनावारी’ दिवसको रुपमा मनाउन लागिएको हो । फाउण्डेसनका निर्देशक तथा मर्यादित महिनावारीकी अभियानकर्मी राधा पौडेलका अनुसार महिनावारीका कारण किशोरी र महिलामाथि गरिने विभेद र हिंसाको बारेमा सवैले बुझ्नुपर्ने आवश्यकता भएकाले यो दिवस मनाउन लागिएको जानकारी दिए । मर्यादित महिनावारी दिवसकै अवसर पारेर आइतबार राजविराजस्थित गजेन्द्र चोकमा महिला मानवअधिकार रक्षक सञ्जालको संयोजनमा दिप प्रज्वलन कार्यक्रम रहेको सञ्जालकी सचिव माधवी शाहले जानकारी दिईन् ।