• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तरुण दलका अध्यक्ष र महासचिव बीच जुहारी

कुन सूचना तथा प्रेस विज्ञप्ति ठिक कुन बेठिक ?
तरुण दलका अध्यक्ष र महासचिव बीच जुहारी

राजविराज, २९ भदौ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेत र महासचिव भुपेन्द्र जङ्ग शाही बीच पत्राचारको विषयलाई लिएर जुहारी चलेको छ ।
उनीहरुले छुट्टा–छुट्टै सूचना तथा प्रेस विज्ञप्ति जारी गर्दै एक–अर्काको पत्रमाथि गम्भीर आपत्ति जनाउँदै भ्रममा नपर्न आग्रह गरेका हुन् । गत भदौ २४ गते महासचिव भूपेन्द्रजङ्ग शाहीद्वारा सम्प्रेषित पत्रमा सप्तरी जिल्ला कार्य समितिको अध्यक्षमा सिता प्रसाद यादवलाई अध्यक्षको जिम्मेवारी तोकिएको उल्लेख छ ।
विगत तीन वर्षदेखि तरुण दलको जिल्ला कार्यसमितिमा उनलाई जिम्मेवारी दिईएको हो । तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नकालागि यादवलाई जिम्मेवारी तोकिएको शाहीद्वारा प्रेषित पत्रमा जनाईएको छ । सङ्गठनको मूल्य, मान्यता, विधि, विधान र आदर्शलाई ध्यानमा राखी नेपाली कांग्रेस पार्टी एवम् तरुण दलका साथीहरुसँग समन्वय गरी सङ्गठनको सम्पूर्ण गतिविधिलाई अगाडि बढाउन निर्देशन दिँदै उक्त पत्रमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सप्तरीलाई समेत बोधार्थ दिईएको छ ।
यद्यपी भदौ २५ गते नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतले जारी गरेको सूचनामा महासचिव शाहीले विधान, विधि, प्रक्रिया, सिद्धान्त र आदर्श विपरित पत्राचार गरिएको भन्दै पत्राचार एवम् कार्यहरु बदर गरिएको जनाएका छन् । सम्वन्धित व्यक्ति एवम् दलका साथीहरुलाई भ्रममा नपर्न सूचनामार्फत सचेत गराउँदै महासचिव शाहीलाई आफ्नो पदीय जिम्मेवारीको परिधीमा रहन र सङ्गठनको हित विपरित अशिष्ठ व्यवहार र क्रियाकलाप नगर्न अध्यक्ष बस्नेत सूचनामार्फत सचेत गराएका छन् ।
दलका महासचिव शाहीले आफ्नो पदीय काम, कर्तव्य विपरित अनाधिकृत रुपमा गरेको निर्णय अस्वीकृत गरिएको सूचनामा उल्लेख छ । नेपाल तरुण दल सिन्धुपाल्चौकका तत्कालिन उपाध्यक्ष सगुन श्रेष्ठलाई तरुण दलबाट निष्काशन गरिएको कार्वाही यथावत रहेको तथा नेपाल तरुण दल सप्तरीमा आजको मितिसम्म कसैलाई पनि अध्यक्षमा मनोनयन नगरिएको जानकारी गराउँदै महासचिव शाहीको मनोनयन बदर गरिएको जनाईएको छ ।
अध्यक्ष बस्नेतले सूचना जारी गरेकै दिन अर्थात भदौ २५ गते पुनः महासचिव शाहीले दलका अध्यक्ष बस्नेत व्यक्तिगत स्वार्थका कारण पटक–पटक सङ्गठनलाई कमजोर बनाउनेतर्फ उन्मुख भएको भन्दै यस्ता एकलौटी अलोकतान्त्रिक सङ्गठन विरोधी क्रियाकलापको घोर भत्र्सना गरेका छन् । विधान वितरित भएका निर्णयहरु आफुहरुलाई मान्य नहुने भन्दै उनले सङ्गठन विरोधी गतिविधिहरु तत्काल रोक्न आग्रह गरेका छन् ।
दलका अध्यक्ष बस्नेतले एकलौटी विधान विपरित गरिएका निर्णयहरु आजकै मितिदेखि खारेज गरिएको महासचिव शाहीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष बस्नेतलाई सङ्गठनको मूल्य, मान्यता, विधि, विधान र आदर्शलाई ध्यानमा राखी अगाडि बढ्न विज्ञप्ति मार्फत सचेत गराईएको छ ।
भदौ २४ गतेदेखि लागु हुने गरी सप्तरी तरुण दल सप्तरीको आधिकारिक अध्यक्ष सिता प्रसाद यादव नै रहेको तथा तरुण दल सिन्धुपाल्चौकका उपाध्यक्ष सगुन श्रेष्ठको पद यथावत कायम हुने गरी कार्वाही फुकुवा गरिएको महासचिव शाहीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । तरुण दल अध्यक्षको हवाला दिएर अबदेखि कुनै पनि अवैधानिक र एकल निर्णय गर्ने अधिकार नभएको समेत प्रेस विज्ञप्तिमार्फत प्रष्ट पारिएको छ । उक्त प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सप्तरी र नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकलाई समेत बोधार्थ दिईएको छ ।