राजविराज, २८ पुस । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सप्तरीद्वारा स्वर्गिय लोकेन्द्र बुढाथोकीको स्मृतिमा शुक्रबार राजविराजमा बृक्षारोपण, रक्तदान तथा श्रद्धाञ्जली सभा आयोजना गरियो ।
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा विभिन्न कार्यक्रम गरी बुढाथोकीको २५औं स्मृति दिवस मनाएको हो । क्याम्पस हाताभित्र २५ वटा बृक्षारोपण गर्नुका साथै २५ जनाले रक्तदान गरी २५औं स्मृति दिवस मनाइएको अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीका अध्यक्ष दिलीपकुमार मण्डलले बताए ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य अशोक मण्डल अमर, पत्रकार मनोहरकुमार पोखरेल, नेकपाका नेता निरन्जन झा, क्याम्पसका कर्मचारी रबीकुमार राय, बिद्यार्थीहरु दिलीपकुमार मण्डल, रिषी माझी, राजु मण्डल, कृष्णदेब मण्डल, उज्जवल साह, मुस्तकिम आलम, शशिभुषण सुमन, अंकति सिंह, एकबाल आलमलगायतकाले रक्तदान गरे ।
अनेरास्ववियु क्याम्पस इकाई कमिटीका अध्यक्ष सुनिलकुमार झा र अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीका अध्यक्ष दिलिपकुमार मण्डलले संयुक्त रुपमा अध्यक्षता गरेको श्रद्धाञ्जली सभामा नेकपाका केन्द्रीय सदस्य अशोक मण्डल, प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, क्याम्पस प्रमुख डा. सर्बेशचन्द्र मिश्र, पत्रकार मनोहर पोखरेलले लोकेन्द्र बुढाथोकीको योगदानबारे चर्चा गरे ।
सल्यान जिल्लाको तत्कालिन कोटमौला गाविसका धनीबहादुर वुढाथोकीका माहिला छोरा लोकेन्द्र सप्तरीलाई कार्यक्षेत्र वनाएर बिद्यार्थी राजनीति पछि पत्रकारिता क्षेत्रमा संलग्न थिए । लोकेन्द्र वुढाथोकीको २०५० साल पुस २६ गते रहस्यमय हत्या भएको थियो । उनकै स्मृतीमा अनेरास्ववियुले लोकेन्द्र स्मृति रक्तकोष स्थापना गरी प्रत्येक वर्ष रक्तदानलगायतका कार्यक्रम गर्दै आएको छ ।