• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नशालु पदार्थको कुलतले युवाहरु बर्वादः स्वास्थ्यमन्त्री यादव

नशालु पदार्थको कुलतले युवाहरु बर्वादः स्वास्थ्यमन्त्री यादव

कमल कुमार मण्डल
राजविराज, २४ कार्तिक । उप–प्रधान तथा स्वास्थ्यमन्त्री एवम् संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नशालु पदार्थको कुलतले युवाहरु बर्वाद हुँदै गईरहेको तथा सिङ्गो समाज नै रोगी बन्दै गईरहेको बताएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ तिलाठीले विहिवार पाठशाला प्राङ्गनमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नशालु पदार्थको सेवनले हाम्रो ठाउँमा दिनानुदिन बिरामी बढदै गएको बताउदै यहाँका जनता मानसिक रुपले रोगी, आर्थिक रुपले गरिबि, शारिरिक रुपले नष्ट हुदै गएको भन्दै यसलाई रोक्न सकिए ९० प्रतिशत रोग अन्त्य हुने दावी गरे ।
बिकट समस्याका रुपमा खाँडो नदि रहेको दर्शाउदै यसका ९० प्रतिशत नियन्त्रणका काम भईसकेको भन्दै पुरा नियन्त्रण गर्नका लागी सहयोगका भावनाले लाग्नुपर्ने मन्त्री यादवले बताए । जमिन उपलब्ध गराईए स्वास्थ्यचौकीलाई स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने उनले प्रतिवद्धता समेत व्यक्त गरे । गाउँपालिकाको बजेटलाई सही ठाउँमा सदुपयोग गरि एकजुट भई सबैलाई अगाडि बढ्न आग्रह समेत उनले आग्रह गरे ।
सोही कार्यक्रममा बोल्दै तिलाठीका युवा नेता निरज कुमार झाले दशकौदेखि यो भुमी गजेन्द्र बाबुको देहान्तपछि नेतृत्व विहिन भईसकेको भन्दै एक वर्ष बितिसक्दा पनि तिलाठी कोईलाडीका जनता उपेन्द्र यादव जस्ता नेताप्रति अपेक्षित रहेको बताए । स्थानिय तहमा विकासका गतिविधि एकदमै न्युन भइरहेको बताउँदै जनप्रतिनिधि आए पनि जनप्रतिनिधि विहिन जस्तो अनुभूति भईरहेकोले समस्याहरुलाई व्यवस्थित गर्न मन्त्री यादवलाई आग्रह गरे ।
स्थानिय यूवा बिट्टु कुमार मिश्राले उप्रधान तथा स्वास्थ्यमन्त्री एंव संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादव समक्ष ज्ञापन पत्र समेत बुझाए । ज्ञापनपत्रमा यस क्षेत्रका प्रमुख जटिल समस्याका रुपमा रहेको खाँडो नदीमा आउने बाढीका कारण यहाँका जनतालाई ज्यान गुमाउनु तथा विस्थापित हुनुपर्ने समस्या, गाउँपालिका अन्तर्गत रहेको भन्सार कार्यालयमा करौडोको कारोबार भएपनि भन्सार कार्यालय जाने बाटोमा निमार्णाधिन अवस्थामा पुलका कारण जनसमुदायलाई भोग्नुपर्ने समस्या, १८ वर्षदेखि गाउँपालिका स्थित रहेको अस्पतालका समस्या, गाउँपालिकाका कामका लागी यहाँका स्थानिय जनतालाई राजविराज जानुपर्ने लगायतका समस्या प्रति मन्त्री यादवको ध्यानार्षण गराए ।
सोही अवसरमा आयोजकद्वारा माला तथा दोसलाले मन्त्री यादवलाई सम्मान गरियो । प्रमुख अतिथि उपप्रधानमन्त्री यादवद्वारा विद्यानन्द मिश्र, फुलेश्वर झा, शारदा देवी झा, वौवा देवी मिश्र, तिलिया देवी यादव लगायत एक दर्जन जेष्ट नागरिकलाई सम्मान गरेका थिए ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा संसद प्रतिनिधिसभा दुलारी देवी खङ्ग, अमरनाथ झा, ललित नारायण झा, अमिर झा, कृपानन्द झा, डा. तारा यादव, दिनेश यादव, शिवचन्द्र मिश्र, जिल्ला सदस्य नवनित झालगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
स्थानीय युवा चन्दन झाद्धारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य तिलाठीका वडा सदस्य रामलखन यादवले गरे ।