रक्षा कुमारी चौधरी
राजविराज, १५ कार्तिक । आज सुत्केरी भएको १९ दिन भईसक्यो । भोक र तिर्खा धेरै लाग्छ । कमजोरी पनि लाग्छ । खानामा भात, दाल र आलुको सादा चटनी बाहेक केही पाउँदिन । पानी पनि सिमित मात्रामा । दुई छाक खानाको साथमा तातो पानी पिउनु परेको छ ।
भोक र तिर्खा लागेपछि बेलुका कतिखेर हुन्छ, पर्खिनु प¥या छ । तिर्खा लागेको बेला पानी खान मन भएरै के गर्नु सासु कराउँंछिन् । एक दिन बेलुका सुत्ने बेलामा पानी लुकाएर राखेको थिएँ, सासुले देखि हालिन् । धेरै पानी वा झोल पदार्थ खायो भने बच्चा बिरामी पर्छ रे । रूघा खोकी लाग्छ रे ! सधैं नुहायो भने बच्चालाई असर गर्छ रे !
सप्तरीको एक ग्रामीण भेगको सुत्केरीको दुःखेसो हो । सप्तरीको राजगढ़ गाउँपालिकाको एक सुत्केरीका अनुसार दाल, भात र आलुको चटनी नै सुत्केरीको खाना हो । गाउँ घरमा यस्तै चलन छ । पहिलेदेखि नै चलिआएको हो । मेरो जेठानीले पनि दुई बच्चा सहित जुम्ल्याहा बच्चा पाउँदा यस्तै खाने गरेकी थिइन् । उनी स्वयंसेविका र शिक्षिका पनि हुन् । जेठानी भन्छिन् ‘के गर्ने दिदी ? स्वयंसेविका हुँ र शिक्षिका पनि, पौष्टिक आहार सुत्केरीलाई दिनुपर्ने कुरा थाहा छ । गाउँघरमा सुत्केरी र घर परिवारलाई यसबारे बताउने गर्छु । यस विषयमा मैलै तालिम पनि लिएको छु । घरपरिवारमा बुहारी भएर सहेर बस्नुपर्छ। समाजले के भन्ला ?
यस्तो स्थिति विभिन्न ठाउँमा छ । चेतनाको कमी हो कि रूढिवादी सोचको प्रभाव हो? बच्चा पाएपछि खानेकुरा बार्नु पर्छ भनेर सासु कराउँछिन् । राजविराज नगरपालिकाको एक परिवारमा पनि यस्तै समस्या देखिएको छ। नौ महिने बच्चाकी आमा राजविराज–५ की अञ्जली कर्ण भन्छिन् ‘हुन त ४५ दिनसम्म तरकारी, फलफुल आदि खाना बार्नुपर्छ तर मैले एक महिनासम्म आफू सुत्केरी हुँदा भात, दाल र आलु चटनी र हलुवा मात्रा खाएर दुई छाक पानी खाएर बसँे । बच्चाको राम्रो स्वास्थ्यको लागि मुख बार्नुपर्छ भनेर बुढ़ापाकाले भन्दै आएका छन्। अरूले पनि यसै गर्छन् ।
यस्ता समाजिक संस्कारबाट अछुतो रहन सकेको छैन राजविराज नगरपालिका उपमेयर साधना झा । उनले आफनो अनुभव सुनाउँदै भनिन् ‘म पहिलोपल्ट सुत्केरी हुदा बच्चालाई डेढ़ दिनसम्म दूध खुवाउन पाइनँ, बच्चालाई गंगा नुहाएर सुधिकरण गरेर दूध खुवाउने परम्परा थियो तर अहिले केही हदसम्म सोच बदलिँदै गएको छ ।’
राजविराज नगरपालिकाकी रूपाको कथा पनि उस्तै उस्तै छ । अहिले उनी आफनो नवजात शिशुलाई लिएर माइती आएकी छिन् । उनकी आमा उर्मिला देवी भन्छिन ‘मेरो सासूले त नौ महिना सम्म भात दाल र नून मात्र हालेको आलूको चटनी खाना दिन्थिन् । दुई छांकको खानाले म कमजोर र बिमारी परे । जसले गर्दा बच्चाहरूलाई डिब्बाको दूध खुवाएर हुर्काएको थिएँ । आफनो छोरीलाई सब थोक खाना दिन्छु । मैले भोगेको जस्तो समस्या छोरीले न भोगनु परोस ।’
राजविराजकै कञ्चन मण्डल, शान्ति यादव, विष्णुपुर गाउँपालिकाकी पुनम देवी लगायतका महिलाको पीडा लगभग उस्तै छ । कञ्चनलाई भात, दाल र आलुको सादा चटनी बाहेक अरू केही खान दिइएन । खाना खाएपछि तातो पानी खान दिईयो । दिन रात गरि जम्मा दुई पल्ट खाना र तीर्खा मिटाउन पानी खान दिईयो । घरको आर्थिक अवस्था कमजोर भएर यसो गरिएको होइन। बुढ़ापाकाको कुरा काटनु हुदैन। जे खान दिइन्छ त्यही खानुपर्छ, यो बाध्यता हो । घरपरिवारले गरेको व्यवहारप्रति पति केही बोल्दैन।
राजविराज स्थित शहरी स्वास्थ्य केन्द्र मातृ शिशु सेवा विभागकी विद्या दासका अनुसार मानिसको सोचमा परिवर्तन आउनु जरूरी छ । घरपरिवारले गर्भवतीलाई भिटामीनको औषधि खाना दिदैन। कारण सोध्दा गर्भमा बच्चा मोटाउँछ रे । फलफूल खाँदा बच्चालाई गर्भमें निमोनिया हुन्छ अरे । नुहाउन दिदैन। सुत्केरीलाई घरको काम गर्न लगाईन्छ । ४५ दिन पर्खिदैन, सुत्केरीलाई आराम गर्न दिईदैन । भारी काम गर्दा वा ट्यूबवेल चलाउँदा पाठेघर खस्ने सम्भावना हुन्छ ।
एक शिक्षित परिवारमा सुत्केरीको पिसाबमा पहेलोपानी र रगत आयो । पीडाले छटपटिन थालिन् । स्वयंसेविकाले बाहिर उपचार गराउन सल्लाह दिइन् । पाठेघरमा घाउ भएकोभने डरले उनलाई सताई रह्यो। उनलाई अनतः धरान स्थित घोपा क्याम्प लगियो । उपचार पछि थाहा भयो कि पिसाबमा संक्रमण भयो । सुत्केरी हुँदा उनलाई दुई छाक खाने बेलामा तातो पानी दिइन्थ्यो। घरपरिवारले थोड़ै पानी खान दिएको यस्तो समस्या भएको चिकित्सकले प्रषस्त पानी पिउन सल्लाह दिए । बिरामी सुत्केरीका पति अहेव हुन् । स्वास्थ्य क्षेत्रमा कार्यरत छन् । तर रूढि़वादी सोचले गर्दा यस्ता गल्त परम्परा हाम्रो समाजमा अहिले पनि हाबी रहेको दासको ठम्याई छ ।
सुत्केरी बन्नु भनेको पुर्नजन्म जस्तै हो । दुई छाक खानाले कुनै पनि सुत्केरीको सन्तुलित आहार प्राप्त हुन्छ भन्न सकिन्न । प्रसुति भएको समयमा रगत र पानी अत्याधिक निस्किन्छ, त्यसैले पोषणयुक्त आहारको सेवन गर्नु जरूरी छ । कम्तीमा चार पटक खाना र प्रशस्त मात्रामा झोल पदार्थ खानु आवश्यक रहेको स्वयंसेविका सिया देवी कर्ण बताउँछिन् । उनले भन्छिन् ‘आफु सुत्केरी हँुदा दूध र भात मात्र खाएर बस्नु परेको थियो । तर अहिलेको परिवेश फरक छ । वैज्ञानिक युगमा सुत्केरीहरूलाई पोषिलो खानेकुरा खाना दिनु पर्छ । सरसफाईमा विशेष ध्यान दिनु पर्छ । स्तनपानले सुत्केरीको भोक र तिर्खा बढ़ाउँछ ।
रूढ़ीवादी सोचका कारण सुत्केरी आमा नित्य नुहाउनबाट पनि वञ्चित हुने गर्छिन् । ज्वानोको झोल खानुपर्ने चिकित्सकहरूले सल्लाह दिए पनि बिना पानी ज्वानो चबाएर खान दिने गरिएको छ । सुत्केरी भन्छिन् ‘जति तिर्खा लागे पनि ज्वानो चबाएर खानुपर्छ ।
स्त्री रोग विशेषज्ञ डा. उषा देवका अनुसार यस्ता अन्धविश्वासी समस्याहरू ग्रामीण भेगमा बढी देखिन्छ । सुत्केरीलाई भिटामीन र प्रोटीनयुक्त खानेकुरा दिनुका साथै सुरक्षित पानी र झोल पदार्थ छ लिटरसम्म खुवाउनु पर्छ । गर्मीयाममा बढ़ी पानी खानुपर्छ। ‘तातो पानी किन खानुप¥यो ? खुवाउनु हुदैन, मसाला, पिरो, अत्यधिक तेल पदार्थ खानु हुदैन, केही बार्नु पर्दैन, माछा, मासु, अण्डा, फलफूल, साग, तरकारी सबै खान दिनुपर्छ।’
सुत्केरी बन्नु भनेको पुर्नजन्म जस्तै हो । दुई छाक खानाले कुनै पनि सुत्केरीको सन्तुलित आहार प्राप्त हुन्छ भन्न सकिन्न । प्रसुति भएको समयमा रगत र पानी अत्याधिक निस्किन्छ, त्यसैले पोषणयुक्त आहारको सेवन गर्नु जरूरी छ । कम्तीमा चार पटक खाना र प्रशस्त मात्रामा झोल पदार्थ खानु आवश्यक रहेको डा. देवको भनाइ छ । उनका अनुसार रूढ़ीवादी सोचका कारण सुत्केरी आमा नित्य नुहाउनबाट पनि वञ्चित हुने गर्छिन् ।
पौष्टिक आहारले बच्चा र आमा दुबैलाई फाइदा हुने भएकोले यसतर्फ घरपरिवारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । सुत्केरी आमा सधैं नुहाउँदा बच्चालाई रूघा खोकी लाग्छ, विरामी पर्छ जस्ता रूढि़वादी अन्धविश्वासी परम्परा अन्त्य हुनुपर्ने डा. देवको भनाइ छ ।
अधिकारकर्मी अनिता देवकोटाका अनुसार सुत्केरीसँग गरिने यस्तो व्यवहार पनि हिंसा नै हो । पोषणयुक्त खाना खानु सुत्केरीको अधिकार हो । मधेशी समुदायमा यस्तो धारणा देखिन्छ । यस्तो व्यवहार गर्ने घर परिवारलाई चेतनाको कमी देखिन्छ। ‘आमालाई पोषिलो खाना खान नदिनु परम्परा जस्तो नै हो, मलाई लाग्छ, एउटा सासूले पहिला–पहिला यो चलन चलाएको होला जस्तो लाग्छ’ उनी भन्छिन् ‘चेतनाको कमी भाको हो कि? आवाज उठाउने कहाँ जाने भन्ने कुरा थाहा न भएको हो कि ? यस्तो हिंसालाई न्यूनिकरणको लागि सुत्केरीका परिवारलाई अस्पतालमा नर्सले पोषिलो खानाको महत्वको बारेमा सम्झाउन र सल्लाह दिनु पर्छ ।’पहाडी समुदायमा घ्यू, माछामासु, हरियो तरकारी, गेड़ागुड़ी लगायत सब थोक खाना दिने गरेको बताउँदै आफु सुत्केरी हँुदा केही बार्नु नपरेको अनुभव सुनाईन् । उनी थप्छिन् ‘सासूले सब थोक खाना दिनु हुन्थ्यो ।’
धरानको घोपामा प्रसुति वाडमा करुवा र सुत्केरीलाइ स्वास्थ र सफाइ सम्बन्धि परामर्श दिन कक्षाको व्यवस्था गरिएको छ। डिस्चार्जको बेला स्वास्थयसंग सम्बन्धित कुरा लेखिएको कागज पनि दिईन्छ । संघसंस्थाबाट खटिएका स्वयंसेवकले समेत हरेक कुरुवा र प्रसुतिलाइ सल्लाह दिईन्छ । तर गाउँघरमा सालभरि भिन्डी, फर्सी, भान्टा, साग, लौका, गेडागुडी, मांसाहारी खानेकुरा, घ्यु, जुस लगायत खान मनाही छ । तीन महिनादेखि ६ महिनासम्म भात दाल र आलु नुनको चटनी दिने गरिन्छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक सुजाता तुम्वाहाङ्फेका अनुसार सुत्केरी महिलासँग गरिने विभेद तथा घरपरिवारले खानपानमा बन्देज लगाएको विषयमा आफुहरुकहाँ उजुरी शुन्य जस्तै रहेको रहेका छ । पीडित महिलाले उजुरी दिएमा गम्भीरतापूर्वक लिने बताउँदै उनी भन्छिन् ‘पारिवारिक एवम् समाजिक हिंसाहरुको विषयमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी प्रहरी ईकाईहरुमा खबर गरिएमा परिवारलाइ सम्झाइ–बुझाइ गर्ने लगायतका आवश्यक प्रक्रिया अगाडि बढाउनेछौं ।’
समाज २१औं शताब्दिमा आइपुग्दा पनि कुरिती एवम् कुसंस्कारबाट समाज ग्रसित रहेको अधिवक्ता शशी कुमार लाल कर्ण स्वीकार्छन् । गर्भवती, सुत्केरी एवम् प्रसुती महिलासँग गरिने यस्ता व्यवहार शारिरिक र मानसिक हिंसा भएकोले यसलाई न्युनिकरण पहिला व्यापक सचेतना जगाउनु आवश्यक रहेकोले कानूनी पाटो भन्दा समाजिक तवरबाट आवाज उठ्नुपर्ने उनको सुझाव छ । उनका अनुसार पीडित महिलाले यस्ता उजुरीहरु नगरपालिका तथा गाउँपालिकाको न्यायिक समिति, जिल्ला प्रहरी कार्यालय, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल, मानव अधिकारसँग सम्वन्धित संघ–संस्था लगायतका निकायहरुमा गर्नुपर्दछ ।
(यो समाचार सामग्री सर्च फर कमन ग्राउण्ड र नेपाल पत्रकार महासंघ, सप्तरी शाखाले प्रदान गरेको फेलोसिप अन्तर्गत लेखिएको हो । तथापी यसमा समावेश गरिएका विचार वा सामग्रीले फेलोसिप प्रदान गर्ने संस्थाको प्रतिनिधित्व गर्नेछैन । सं)
राष्ट्रिय
सुत्केरी महिलालाई अझैं खानपानमा परिबन्ध !
जहाँ खान दिईन्छ दाल, भात र आलुको चटनी