खगेन्द्र कार्की । राजविराज, २० असोज । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्वर २ गोवद्र्धन वैरागी जनता माध्यमिक विद्यालय फत्तेपुरमा एक दिने बृहत स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
न्युरो हस्पिटल बिराटनगरको प्राबिधिक सहयोग तथा सप्तकोसी नगरपालिकाको आयोजनामा सञ्चालित एक दिने स्वास्थ्य शिविरमा न्युरो कार्डियो एन्ड मल्टिस्पेसियललिटि हस्पिटल प्रा.लि. बिराटनगरका न्युरोलोजिस्ट डा. बिरेन्द्र बिष्ट, न्युरो सर्जन डा. यमबहादुर राना, हाड जोर्नी डा. नबिन कर्ण, डा. सुदिप खनिया, डा. समर्थ सिंह, डा. राजिव श्रेष्ठ, केशर बहादुर गुरुङ, फिजिसियन डा. नारायणी रोका, आँखा रोग डा. रेनुका राठी, स्त्री तथा प्रसुती रोग, डा.सुरेश प्रसाद साह, बालबालिका डा. अमित प्रताप साह, दन्त रोग लगायतका सेवा प्रदान गरिएको हस्पिटल का प्रमुख बिरेन्द्र बिष्ट ले जानकारी दिएका छन् ।
स्वास्थ्य शिविरमा एक हजार पाँच सय सर्वसाधारणको निशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण समेत गरिएको छ । स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले वर्तमान जिवनशैलीमा उच्च रक्तचापको बारेमा विद्यार्थीहरु बिच निबन्ध लेखन प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।
प्रतियोगितामा प्रथम कक्षा १० को मनोज साह, दोस्रो अभिशेक कार्की र तेस्रो दिपिका चौधरी भएका छन् । प्रथम दोस्रो तेस्रो हुनेलाई न्युरो हस्पिटलले क्रमश ३ हजार, दुई हजार र एक हजार पुरस्कार वितरण गरिएको आयोजक समितिका सदस्य दयाराम भट्टराईले जानकारी दिएका छन् ।
नगर प्रमुख उत्तम कुमार शर्माको अध्यक्षतामा आयोजित स्वास्थ्य शिविरको उद्घाटन प्रमुख अतिथि न्युरो हस्पिटलका प्रमुख बिरेन्द्र बिष्टले गरे ।