• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पप्पु कन्सट्रक्सनको ठेक्का रद्द गर्न संघर्ष समितिको माग

पप्पु कन्सट्रक्सनको ठेक्का रद्द गर्न संघर्ष समितिको माग

राजविराज, ८ असोज । हुलाकी सडक संघर्ष समितिद्वारा सञ्चालित सप्ताहव्यापी हुलाकी जनजागरण अभियानको समापन आइतवार प्रदेश नम्वर २ का मुख्यमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
मुख्यमन्त्रीको अनुपस्थितिमा आर्थिक मामिला योजना मन्त्री विजयकुमार यादवले ज्ञापनपत्र बुझेका थिए । ज्ञापनपत्रमा उल्लेख भए अनुसार कमला र बलानपुलको निर्माणमा गरेको ढिलाईप्रति आक्रोश व्यक्त गर्दै पप्पु कन्सट्रक्सनको ठेक्का रद्द गर्न माग गरिएको छ । जनकपुरदेखि कमलापुलसम्म २५ किलोमिटर ठेक्का लिएका लामारमण कन्सट्रक्सनले गत असारसम्ममा नै कालोपत्रे गरेर काम सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म २५ प्रतिशतभन्दा बढी काम नगरेकोले चाँडोभन्दा चाँडो काम गराउन प्रदेश सरकारले दवाव सिर्जना गरोस् भन्ने कुरा ज्ञापनपत्रमा उल्लेख छ ।
उल्लेखनीय कुरा के छ भने पप्पू कन्सट्रक्सनका मालिक हरिनारायण रौनियार पर्साबाट सांसद निर्वाचित भएका छन् भने लामा कन्सट्रक्सनका मालिक किशोरी साह धनुषाबाट प्रदेश सभा सदस्य भएका छन् । यसरी ठेकेदार नेता र नेता ठेकेदार भएपछि काम हुननसकेको सर्वसाधारणको टिप्पणी छ ।
अभियानको उद्घाटन भदौ ३१ गते प्रदेश नम्वर २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले राजविराजमा एक किलोमिटर पैदल हिडेर गरेका थिए । आठ दिनमा राजविराजदेखि जनकपुरसम्म ८५ किलोमिटर हिडेर जनकपुरको जनकचौकबाट अभियानीहरुले कमला बलान पुल जल्दी बना, नहि त ठेक्का रदद् कर मैथिलीमा नारा लगाउँदै मुख्यमन्त्रीको कार्यालय पुगेका थिए ।
अभियानको शुरुवातदेखि नै संयोजक रामरिझन यादवको नेतृत्वमा सप्तरी र सिरहाका संयोजक क्रमशः प्रेमनारायण यादव र मनोज पासवान, सिरहाका सञ्जय यादव, रामएकवाल यादव, रामबालक यादव तथा सप्तरीका बालेश्वर मण्डल, सुशील यादव र जयनारायण यादवको सहभागिता थियो धनुषाका संयोजक इन्द्रदेव यादवले पनि टोली धनुषा आईपुगेपछि सघाएका थिए ।