• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संशोधन बिना यो संविधान सबैको हुनसक्दैनः मुख्यमन्त्री राउत

कञ्चनरुपका मृतक परिवारलाई प्रदेश सरकारको सहयोग
संशोधन बिना यो संविधान सबैको हुनसक्दैनः मुख्यमन्त्री राउत

राजविराज, ५ असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान त्रुटीपूर्ण रहेको भन्दै संशोधन नभएसम्म सबैको संविधान हुन नसक्ने बताएका छन् ।
स्वाइन फ्लु प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन शुक्रवार सप्तरीको कञ्चनरुप नगरपालिका पुगेका उनले यस्तो कुरा बताएका हुन् । अन्नपूर्ण बहुमुखि क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले भने ‘यो त्रुटीपूर्ण छ, संशोधन बिना यो संविधान सबैको संविधान हुनसक्दैन ।’ वर्षोदेखि अधिकारबाट वञ्चित रहँदैआएका मधेशी समूदायलाई हक अधिकार दिलाउन प्रदेश सरकार अहिले पनि संघर्षकै बाटोमा अघि बढेको विश्वास व्यक्त गरे ।
मधेशी जनताको संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने ‘हामी जहाँ छौं, त्यहीबाट संघर्षलाई अगाडि बढाएका छौं, संशोधन नगरिएसम्म हामी चुप रहन सक्दैनौं ।’ संघीयता मधेश र मधेशी जनताको एजेण्डा भएकोले यसलाई जोगाउनकालागि सबै पक्षले आ–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।
क्याम्पसका प्रमुख समेत रहेका फोरम नगर समितिका अध्यक्ष सुगम्बर यादवको अध्यक्षतामा आयोजित स्वागत एवम् अभिनन्दन कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, पार्टीका केन्द्रिय सदस्य सूर्यनाथ यादव, सप्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शत्रुध्न प्रसाद रौनियार, फोरमका हनुमाननगर कंकालिनी नगर समितिका अध्यक्ष वीरेन्द्र माझी लगायतले मन्तव्य व्यक्त गरे ।
तत्पश्चात मुख्यमन्त्री राउत कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्र पुगेर स्वाइन फलु रोगको अवस्था, नियन्त्रणकालागि हुँदैआएको प्रयास, औषधीको मौजुदा अवस्था लगायतका विषयमा जानकारी लिएका छन् । यसैगरी कञ्चनरुप नगरपालिका कार्यालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले स्वाइन फ्लुको प्रकोपबाट मृत्यु भएका वडा नम्वर ७ का १३ वर्षीय दिवश बस्नेत, वडा नम्वर ३ का १४ वर्षीय किशोरकुमार राम, ९ का १४ वर्षीय आमोद राम र सोहि ठाउँका ६० वर्षीया भालसैरदेवी सरदारको परिवारलाई जनही २ लाख रुपैयाँको चेक समेत प्रदान गरेका छन् । औषधी लगायत रोग नियन्त्रणकालागि १५ लाख रुपैयाँ स्वास्थ्य संस्थालाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ ।
नगरपालिकाका प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, इपिमिडियोलोजी महामारी रोग नियन्त्रण महाशाखाका प्रमुख डा. प्रकाश साह, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जन यादव लगायतले मन्तव्य व्यक्त गरे ।