राजविराज, १ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डायलायसिस सेवा शुक्रवारदेखि शुरु भएको छ ।
उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एक समारोहका बिच उक्त सेवाको उद्घाटन गरेका हुन् । डायलायसिस सेवाको उद्घाटन गर्दै उनले स्थापनाकालदेखि नै जनशक्ति अभाव रहेको अञ्चल अस्पतालमा एक साताभित्रै चिकित्सक पठाउने तयारी भईरहेको बताए । उनले भने ‘राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राम्रा चिकित्सक आउन मान्दैन, यसकालागि उचित वातावरण बनाउनु स्थानीयवासिन्दाको दायित्व हो ।’
सगरमाथा अञ्चल अस्पताललाई रेफरल अस्पतालको रुपमा भनिने गरिएकोले अब यो अवस्था नरहने मन्त्री यादवले बताए । ‘अस्पतालको मुहार फेरिँदै गएको चाँडै आम जनताले अनुभूती गर्नेछन्, अबको केहीवर्षभित्रै यो अस्पतालमा उपचार गराउन अन्यत्रका जिल्लाबाट समेत विरामीहरु आउने अवस्था सिर्जना हुँदैछ’ उनले भने ‘यो अस्पतालमा चाँडै अर्को नयाँ सेवा सञ्चालन हुनेछ तर अहिले नै भन्दिन ।’ अस्पताललाई प्राथमिकता राखेर सरकार अघि बढेको भन्दै उपप्रधानमन्त्री यादवले अस्पतालाई अत्याधुनिक सुविधा सम्पन्न बनाउनका लागि ७६ करोडको खर्चमा नयाँ भवनको निर्माण कार्य आउँदो महिनाबाट थालिने अध्यक्ष यादवले जानकारी दिए ।
राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले दुई तिहाई बहुमतको यो सरकारले देशमा आमूल परिवर्तन ल्याउन खोजेको बताए । अञ्चल अस्पताल उपेक्षित रहँदैआएकोले चाँडै कायापलट हुनेमा आफु विश्वस्त रहेको उनले बताए । प्रदेश २ का भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले अस्पतालको मुहार फेर्नकालागि आफुहरु प्रयासरत रहेको बताए ।
प्रदेश सभा सदस्य मनिष कुमार सुमनले दरबन्दी अनुसारको चिकित्सकको अभाव खेप्दैआएको यो अस्पतालको विकास भए सप्तरीको समृद्धिमा समेत मद्दत मिल्ने विश्वास व्यक्त गरे । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सराजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, अवकाशप्राप्त चिकित्सक तीर्थनारायणलाल दास, अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष डा. चिरञ्जिवीलाल देव लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै अस्पतालका डा. रणजीत कुमार झाले विविध समस्याबारे जानकारी गराए ।
अस्पतालमा १९ चिकित्सकको दरवन्दी रहेकोमा हाल ३ जना मात्र कार्यरत छन् भने विभिन्न पद गरी १ सय १ जना स्वास्थ्यकर्मीको दरवन्दी रहेकोमा ४१ जना मात्र उपलब्ध रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेड डा. चुमन लाल दासले जानकारी गराए । डा. रणजीत झाको नेतृत्वमा अस्पतालमा डायलायसिस सेवा शुरु भएको हो ।
राष्ट्रिय
राजविराजको अञ्चल अस्पतालमा डायलायसिस सेवा शुरु
एक हप्ताभित्र दरबन्दी अनुसारको चिकित्सकः उप–प्रधानमन्त्री यादव