काठमाडौं, ६ साउन । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पताललाई उद्योग र व्यापार बनाएका कारण स्वास्थ्य क्षेत्र ध्वस्त भएको बताएका छन् ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १३ चुनिखेलमा आइतबार स्वास्थ्य चौकी भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । मन्त्री यादवले स्वास्थ्य क्षेत्रभित्रको ठेकेदारी प्रथा अन्त्य हुनुपर्ने बताउँदै भने ‘स्वास्थ्य क्षेत्रमा व्याप्त सिण्डिकेट र ठेक्का प्रथा अन्त्य गर्नै पर्छ’, ‘स्वास्थ्य क्षेत्रमा औषधिको गुणस्तरमा कुनै सम्झौता गर्न सकिन्न ।’
मन्त्री यादवले औषधिको गुणस्तर र प्रभावकारीताको अनुगमन गरिने जानकारी दिँदै औषधिको गुणस्तरमा सरकारले उच्च प्राथमिकताका साथ ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।
गाउँलाई आधार बनाई बिरामी जनतालाई गाउँमै सेवा दिनुपर्नेमा जोड दिँदै स्वास्थ्यमन्त्री यादवले भने, ‘चिकित्सकहरू शहरमा बस्छन्, गाउँमा नबस्दा स्वास्थ्य सेवा लिनबाट गरिब जनता बञ्चित हुनुपर्ने अवस्था आएको छ, डाक्टरले अस्पताल नजाने प्रवृत्ति बन्द हुनुपर्छ ।’
काठमाडौंभित्र पनि थुप्रै गाउँठाउँ दुर्गम जस्तै अवस्थामा रहेको भन्दै अहिलेसम्म राज्यको ध्यान पुग्न नसकेकोप्रति चिन्ता व्यक्त गरे । जनता स्वस्थ्य नभएसम्म देश नबन्ने बताउँदै उनले भने ‘स्वास्थ्य र शिक्षालाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ, प्रदेश सरकारले पनि स्वास्थ्य संस्था र सेवा जस्ता आधारभुत सेवालाई व्यस्थित र गुणस्तरीय बनाउने अपेक्षा गरेका छौँ ।’ उनले केन्द्र, प्रदेश र स्थानीयस्तर बीच सहकार्य गरेर जनताको घरदैलोमै स्वास्थ्य सुविधा प¥याउनुे प्रतिवद्धता व्यक्त गरे ।
सोही क्षेत्रका सांसद गगन थापाको समेत उपस्थिति रहेको कार्यक्रममा ‘ग्लोवल सेयर्स काठमाडौं’ले निर्माण गरिदिएको स्वास्थ्य चौकी भवन उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले बुढानिलकण्ठ नगरपालिकालाई हस्तारन्तर गरिएको छ ।