• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बालअधिकार सुनिश्चितताको लागि सरकार प्रतिबद्धः मुख्यमन्त्री राउत

बालअधिकार सुनिश्चितताको लागि सरकार प्रतिबद्धः मुख्यमन्त्री राउत

जनकपुरधाम, ९ जेठ । मुख्यमन्त्री लालबाबु राउतले बालबालिकाको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
समाजिक विकास मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको बालबालिकाको अधिकार सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै मुख्यमन्त्री राउतले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । बालबालिका मुलुकका कर्णाधार रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले उनीहरुको अधिकार सुनिश्चित नगरेसम्म मुलुक र प्रदेश समृद्ध हुन नसक्ने भएकाले समेत प्रदेश सरकार बालबालिकाको अधिकार सुनिश्चितताको लागि हरेक कदम उठाउन तयार रहेको बताए ।
विगतका संविधान र ऐन कानूनका साथै हालको संविधानले समेत बालबालिकाको अधिकार सुनिश्चित गरेपनि फितलो कार्यान्वयन पक्षका कारण अपेक्षित उपलब्धि हासिल गर्न सकेको उल्लेख गर्दै उनले अगामी दिनमा ऐन कानूनको प्रभावकारी कार्यान्वयन प्रदेश सरकारको तर्फ बाट गराउने बताए । उनले भने ‘जिम्मेवारी हाम्रो काँधमा आएको, सबैलाई मिलेर अगाडी बढनु पर्दछ , अनि मात्र समृद्ध प्रदेश र सुन्दर भविष्यको परिकल्पना गर्न सक्दछौ ।’
अन्य प्रदेशको तुलनामा यस प्रदेशमा बालबालिका अवस्था बढी नै दयनिय रहेकाले प्रदेश सरकार शुरुदेखि नै बालबालिकाको अधिकारलाई प्राथमिकतामा राखेर अघि बढेको समेत उल्लेख गरे । त्यसकै फलस्वरुप प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ योजना समेत ल्याएको उनले बताए ।
बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्नेहरुनै बालश्रम बढी प्रयोग गर्ने गरेको उल्लेख गर्दै उनले कानूनको प्रभावकारी कार्यान्वयन गरेर त्यस्त प्रवृतिलाई निरुत्साहित गर्ने आफुहरुको पहिलो प्राथमिकता रहेको समेत बताए । समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य रानी शर्मा तिवारी, मन्त्री परिषदका प्रमुख सचिव हरि प्रसाद फुयाल, जिल्ला समन्वय समितिका सभापति रामदेव बनरैत, उपसभापति दिपक झा, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता झा, सहितकोउपस्थिति रहेको थियो । कार्यक्रममा केन्द्रिय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बाल अधिकारको सम्मान, संरक्षण र परिपुर्तिका लागि प्रदेश सरकार विषयक कार्यपत्र प्रस्तुत गरे भने सामाजिक विकास मन्त्रालयका सचिव डा. किरण रुपाखेतीले बालअधिकारको संरक्षण र प्रवद्र्धनको लागि भविष्यको कार्य्दिशा विषयक कार्यपत्र प्रस्तुत गरे ।