राजविराज, ७ वैशाख । सन् २०२० सम्म कुष्ठ रोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य रहेकोले सबैले आ आफ्नो स्तरबाट जिम्मेवारी वहन गर्नुपर्ने कुरामा राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरीद्धारा शुक्रवार आयोजित कुष्ठ रोग निवारण अभियानमा जिल्ला स्तरिय सम्नवय समिति, सञ्चरकर्मि, स्वास्थ्य संयोजक र संस्था प्रमुखहरुको एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रञ्जित कुमार झाले विगतमा कुष्ठ रोगी प्रति गलत सोच रहेकोमा हाल आएर यस्तो अन्धविशवास हटदै गएको बताए । स्थानिय स्तरमा कुष्ठ रोगीहरु रहेपनि पहिचान हुन नसकेको भन्दै अभियानको रुपमा यसलाई गाउँ गाउँमा लगिनुपर्नेमा उनले जोड दिए ।
कुष्ठरोग नियन्त्रण महाशाखाका अधिकृत निठाराम थापाले अभियानलाई सफल पार्न आ आफ्नो स्तरबाट जिम्मेवारी बहन गर्न आग्रह गरे । प्राथमिक स्वास्थ केन्द्र कञ्चनपुरका स्वस्थय संयोजक डाक्टर संजिव कुमार झाले कुष्ठ रोगका रोगी तत्कालै पहिचान गर्न कठिन रहेको भन्दै छालामा समान्य समस्या देखिएमा तत्कालै जचाँउनु पर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले कुष्ठ रोग पुर्व जन्मको पाप भनि विरामीलाई गलत दृष्टिकोणले हेरिने मानसिकता अझै गाउँ समाजमा रहेकोले त्यसलाई परित्याग गरि नियमित औषधि खाएपछि निको हुन्छ, भन्ने विषयमा व्यापक प्रचार प्रसार आवश्यक रहेको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख राज नारायण ठाकुरले सप्तरी जिल्लामा कुल ७ सय २५ जना स्वास्थ्यकर्मि रहेकोमा २ सय १० जना कुष्ठ रोग सम्बन्धि तालिम प्राप्त जनशक्ति रहेको भन्दै स्वास्थ्य कर्मिहरुलाई अझै सक्रिय भएर काम गर्न आग्रह गरे ।
कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत धु्रव उराव, सप्तकोशी नगरपालिकाका स्वास्थ्य संयोजक जिवछ प्रसाद साह, नन्दलाल बासतोलालगायतले मन्तव्य व्यक्त गरे ।