• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

कृषिलाई आधुनिकीकरण गर्दै सम्मानित पेशाको रुपमा विकास गर्नेः मन्त्री साह

कृषिलाई आधुनिकीकरण गर्दै सम्मानित पेशाको रुपमा विकास गर्नेः मन्त्री साह

राजविराज, २० फागुन । प्रदेश नम्वर २ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्दै प्रदेश र देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आइतवार राजविराजमा आयोजना गरेको ‘सम्मान कार्यक्रम’मा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । कृषि क्रान्तिबाट नै आर्थिक समृद्धि हुने भएकोले सिंचाई, गुणस्तरीय मलखाद, उन्नत बीऊबिजनमा किसानहरुको पहुँचलाई सहज र सुलभ बनाउने खालका योजनाहरुलाई प्राथमिकतामा राखिने बताउँदै मन्त्री साहले भने ‘विगतमा सरकारले कृषि क्षेत्रलाई उपेक्षा गर्दैआएको छ, त्यसैले अब कृषिलाई आधुनिकिकरण गर्दै सम्मानित पेशाको रुपमा विकास गरिनेछ ।’
एक अर्को प्रसङ्गमा नेता साहले राष्ट्रिय जनता पार्टीलाई समेत सन्तुष्ट गरी पार्टी वाम गठबन्धनको सरकारलाई सघाउनेमा आफु आशावादी रहेको बताए । संघीय समाजवादी फोरम नेपाल–राष्ट्रिय जनता पार्टीले उठाउँदै आएको संविधान संशोधनको माग वाम गठबन्धनले सम्वोधन गर्ने भनिएकोले सरकारलाई सघाउन लागेको प्रष्ट्याए ।
मधेशी समुदायको अधिकार, पहिचान र शासन सत्तामा समान सहभागिताको लागि संविधान संशोधन आवश्यक रहेको वताउँदै मन्त्री साहले मधेशी समुदायको पहिचान स्थापित गर्नकै लागि पनि फोरमसँगै राजपालाई समेत सरकारमा जानु आवश्यक रहेको बताए । संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिती सदस्य समेत रहेका साहले वाम गठबन्धनको सरकारमा जाने विषयमा फोरमले निर्णायक वार्ता हुने बताए ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आफुलाई सम्मान गरेकोमा धन्यवाद दिँदै पत्रकारिता क्षेत्रको विकासकालागि आफुबाट हुनसक्ने सक्दो सहयोग गर्ने बताए । कृषि पत्रकारिताकालागि समेत आफुले योजना बनाएर नयाँ कदम चाल्न पहल गर्ने मन्त्री साहले विश्वास व्यक्त गरे ।
महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, महासंघका केन्द्रीय सदस्य अबधेश कुमार झा, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्षहरु शम्भु झा, धीरेन्द्र साह, केन्द्रीय पार्षद्को तर्फबाट अनिल कुमार अनल लगायतले मन्त्री साहलाई शुभकामना दिँदै कार्यकाल सफलताको कामना गरे । कार्यक्रममा स्वागत मन्तव्य महासंघका उपाध्यक्ष श्यामसुन्दर यादवले गरे भने सञ्चालन सचिव जितेन्द्र कुमार झाले गरे ।