• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्रः मधेशी जनताको सपना साकार पार्ने प्रतिवद्धता

भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्रः मधेशी जनताको सपना साकार पार्ने प्रतिवद्धता

राजविराज, ६ फागुन । सप्तरीबाट प्रदेश सभा सदस्यमा निर्वाचित शैलेन्द्र प्रसाद साह भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चयन भएका छन् ।
संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य समेत रहेका उनलाई पार्टीको निर्णय अनुसार प्रदेश नम्वर २ को मन्त्रीको रुपमा चयन गरिएको हो । विद्यार्थी जिवनकालदेखि राजनीतिमा सक्रिय रहँदैआएका उनी मधेश आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर–५ निवासी तुलसी प्रसाद साह तथा समुन्द्री देवी साहका जेठो सुपुत्र हुन् उनी । सामान्य खेती किसानी गर्ने परिवारमा वि.सं. २०३३ साल कार्तिक ११ गते जन्मिएका साहका एक भाइ र एक बहिनी छन् ।
नरेन्द्र मेमोरियल माध्यमिक विद्यालय हुँदै जनकपुरको रा.रा.ब. क्याम्पसबाट स्नातकसम्मको अध्ययन गरेका छन् । अध्ययनका क्रममा २०५० सालमा सप्तरीबाट जनकपुर पुगेका उनले त्यहाँ अध्ययनरत सप्तरीया विद्यार्थीहरुलाई सङ्गठित गर्दै सप्तरी विद्यार्थी परिवार गठन गरे । सोही सङ्गठन मार्फत उनीहरुको हक हितकालागि काम गर्दै गएपछि छोटो समयमै कलेजमा उनी लोकप्रिय भए । अति मिलनसार स्वाभावका उनले विद्यार्थीहरु बिच हुने समान्य विवादहरुलाई कुशलताका समाधान गरिदिन्थे । २०५३ सालमा क्याम्पसमा नेपाल विद्यार्थी संघको तर्फबाट उनी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिवमा अत्यधिक मतले निर्वा्चित भए ।
स्नातकको पढाई पुरा गरेपछि जन्मथलो सप्तरी आएर विद्यार्थी राजनीतिलाई निरन्तरता दिए । उनी ने.वि. संघको क्षेत्रीय अध्यक्ष हुँदै नेपाली कांग्रेस महासमिति सदस्य समेत भए । सोही क्रममा मधेशी जनताको हक अधिकारकालागि उपेन्द्र यादवको नेतृत्वमा मधेशी जन अधिकार फोरम नेपालको गठन भयो । यादवद्वारा लेखिएका मधेश सम्वन्धी पुस्तकहरु पढ्दै गए । फोरमले वौद्धिक गतिविधिहरु गर्न थालेपछि उनी मधेशी जनताको मुक्तिकालागि फोरम निकट हुँदै गए । ‘तराई जल रही है’ पुस्तकका लेखक आर.डि. आजाद मार्फत फोरममा उनी आवद्ध भए ।
२०५६ पुस १० गते राजविराज नगरपालिकाको सभाहलमा नेता साहकै अध्यक्षतामा फोरमको पहिलो भव्य कार्यक्रम आयोजना गरियो । फोरमको संस्थापक जिल्ला अध्यक्ष हुँदै २०६३ सालको ऐतिहासिक आन्दोलनको कुशलताका साथ नेतृत्व गरे । सप्तरीमा त्यतिबेला साम्प्रदायिक सद्भाव भड्किने स्थिति आइसकेको थियो । कतिपय व्यक्तिको घरमा ढुङ्गामुढा भईसकेको अवस्थामा कार्यकर्ताहरुलाई साम्य पार्नुका साथै सर्वपक्षीय बैठक बोलाएर समाजिक सद्भावलाई कायम राख्नमा उनको ठूलो भूमिका रहेको कुरा सप्तरीवासीको मानसपटलमा अझैं ताजै छ ।
२०६३ साल माघ २ गते मशाल जुलुस आयोजना गरिएको थियो । मधेश बन्द रहेको अवस्थामा माओवादी नेता राम कार्की चढेको गाडीलाई भारदहमा रोक्ने प्रयास भयो । हतियार सहित जनमुक्ति सेनाको टोली रुपनी आईपुगेपछि त्यहाँ साहको नेतृत्वमा फोरमले रोक्ने प्रयास ग¥यो । त्यहाँ एकछिन घम्साघम्सी समेत भएपछि छलेर माओवादी नेता सहितको टोली निस्केका थिए । नेता साहका अनुसार आफुहरुले संयमता नअपनाएको भए लहानमा नभई रुपनीमै घटना हुनसक्ने स्थिति थियो ।
निरन्तर सात वर्षसम्म फोरमको जिल्ला अध्यक्ष भएर सङ्गठन हाँकिसकेका उनले पहिलो मधेश आन्दोलनको नेतृत्व कुशलताका साथ गरे । शाही शासन विरुद्ध तथा २०६२र०६३ सालको जनआन्दोलनका क्रममा पटक–पटक उनी गिरफ्तार भए भने तीन महिनासम्म जेल जीवन समेत बिताए । मधेश आन्दोलनका क्रममा प्रहरीको लाठी, बुट र बन्दुकको कुन्दाको कुटाईबाट दर्जनौं पटक मरणासन्न हुने गरी कुटिए ।
तेस्रो आन्दोलनका क्रममा भारदहमा पूर्व–पश्चिम राजमार्गमा चक्का जामका क्रममा प्रहरीले आन्दोलनकारीहरुमाथि लाठी बर्साउन थाले । सहकर्मी भाग्न सफल भए पनि उनी भाग्न सकेन । प्रहरीले निर्ममता पिट्न थालेको दृष्य हेर्न नसकेपछि भारदहवासीसहित ठूलो जमात प्रतिकारमा उर्लिदा प्रहरीले गोली चलाउँदा राजिव राउतको सहादत भएको उनी सम्झिन्छन् ।
उनी स्थानीय शान्ति समितिको पहिलो संयोजक, राजविराज नगरपालिकाको नगर विकास समितिको अध्यक्ष लगायतका विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । समाजिक गतिविधिमा सक्रिय रहँदैआएका साह २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्वर ३ बाट उम्मेदवार भएका झिनो मत अन्तरले पराजित भए । यद्यपी उनले आम जनताको माझमा रहेर मधेश आन्दोलनमा सक्रिय रहँदै गए ।
संघीय संरचनामा प्रदेश नम्वर–२ को प्रदेश सभा सदस्यमा उनी अत्यधिक मतले विजयी भएका छन् । पार्टीको केन्द्रीय सदस्य हुँदै हाल फोरमको राजनीतिक समितिको सदस्यको जिम्मेवारीमा छन् । प्रदेश सभा सदस्यको सपथ–ग्रहण समारोहमा उनले मधेशको परम्परागत पहिरण धोती कुर्ता र गम्छा लगाई मैथिली भाषामा सपथ लिएर आफ्नो स्वाभिमानलाई कायम राखेर उदाहरणीय बनेका छन् ।
प्रदेश सभामा निर्वाचित भएपछि अब बन्ने प्रदेश सरकारको मुख्यमन्त्रीका रुपमा प्रबल दाबेदारका रुपमा उभिएका थिए । यद्यपी पार्टीले विश्वास गरेर उनलाई मन्त्रीको जिम्मेवारीमा पठाएको छ ।
पत्रकारितामा शैलेन्द्र
स्नातक अध्ययन गर्न धनुषाको जनकपुर स्थित रा. रा.ब. क्याम्पसमा अध्ययनरत रहँदा पत्रका अनिल कर्णसँग ‘समयचक्र’ मा आवद्ध भई व्यवस्थापकको रुपमा काम गर्न थाले । सोही क्रममा समाचारका साथै सामसामयिक लेखहरु लेख्न थाले ।
सप्तरी आएपछि अर्जुन साहसँग मिलेर पुनः पत्रकारितामा सक्रिय भए । आजको जनपुकार साप्ताहिकको सम्पादक भएर समेत काम गरे । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सदस्य हुँदै केन्द्रीय पार्षद समेत भईसकेका छन् ।
सप्तरी सदरमुकाम राजविराज २०६६ सालमा खुलेको मधेशकै चर्चित रेडियो ‘छिन्नमस्ता एफएम’को सञ्चालक समितिको सदस्य रहँदै लामो समयसम्म अध्यक्षको जिम्मेवारीमा रहिसकेका छन् । उक्त रेडियोले मधेश आन्दोलनका क्रममा जनजागरण ल्याउने खालका कार्यक्रम सञ्चालन गरेका कारण नेता साहले नेतृत्व गरेको रेडियो खुबै चर्चा बटुल्न सफल भएको थियो ।
प्रदेश नम्वर २ विकास निर्माणको दृष्टिकोणले अझैं पछाडि रहेको भन्दै अधिकार, विकास र रोजगारीलाई प्राथमिकता दिएर अगाडि बढ्ने उनको प्रतिवद्धता छ । शहिद परिवारको व्यवस्थापन तथा बालबच्चाको शिक्षादिक्षाका लागि समुचित प्रबन्ध मिलाउने नेता साहको भनाई छ ।
बेथितीहरुलाई पन्छाउँदै विकास निर्माण लगायतका क्षेत्रमा परिवर्तन ल्याउनकै आफुलाई जनताले अत्यधिक मत दिएर जिताएको उनले बताए । सप्तरीवासीको माया, स्नेह र आशिर्वादकै कारण अगाडि बढिरहेको बताउँदै नेता साहले सप्तरीवासीका साथै मधेश र मधेशी जनताको सपनालाई साकार पार्न आफु प्रतिवद्ध रहने विश्वास व्यक्त गरेका छन् ।