बृजमान तामाङ /बिरेन्द्र बजार । ३ फागुन, सप्तरी लगायत देशैभरी तामाङ समुदायले आपसी एकता, सद्भाव र सम्पुर्ण प्राणी जगतको सुख शान्तिको कामना गर्दै हर्षोल्लासका साथ २८५४ औं सोनाम (खि) ल्होछार मनाईदै छ ।
माघ शुक्ला प्रतिपदाको दिनदेखि १५ दिन सम्म तामाङ समुदायले प्रमुख चाडको रुपमा मनाउने ल्होछा शुक्रबारदेखि शुरु भएको हो । ल्होछारमा तामाङ पात्रो अनुसार सम्वत फेरिने भएकाले नयाँ बर्षको रुपमा पनि मनाउने गरिन्छ । ल्होछार आउनु भन्दा एकदिन अगाडि गएको साललाई बिदाई गर्दै नयाँ बर्षको स्वागतका लागि तामाङ समुदायले घर, गुम्बा लगायतका सर्बाजानिक स्थलहरुको सरसफाई गरी दिप प्रज्जवलन गर्दछन् ।
ल्होछारको दिन सम्पुर्ण प्राणीको सुख शान्तिको कामाना गरी घर,गुम्बा, स्तुप, बाटो लगायतका सार्वजनिक स्थालहरुमा शान्तिको प्रतिक पञ्च रंगिन झण्डा गाड्ने र सामुहिक कार्यक्रमहरुको आयोजना गरी मनाईन्छ । ल्होछारको दोश्रो दिनदेखि १४ दिनसम्म आफन्तहरुकोमा कोसेली लिएर आउने—जाने ठूलाबडाले टिका खादा लगाई दिने, गच्छे अनुसारको दक्षिणा हातमा लगाई आर्शिबाद दिने प्रचलन रहेको नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोले तामाङले बताए ।
ल्होछारमा बाहिर रहेको आफन्तहरु घरमा आउने बिवाह भएर गएका छोरीचेली माईती, मामाघर आउने, एक आपसमा शुभकामना आदान—प्रदान गर्ने मिठो परिकार बनाएर खाने र बिभिन्न सभा समारोहको आयोजना गरी ल्होछार मनाउने परम्परा रहेको नेपाल तामाङ घेदुङ सप्तरीका सचिव सुर्यमान तामाङले जानकारी दिएका छन् । यसबर्ष तामाङको सोनाम र शेर्पाको ग्याल्बो ल्होछार एकै दिन परेको छ । तामाङ समुदायले मनाउने सोनाम ल्होछार सुर्यपात्रो अनुसार माघ ४ मा परे पनि चन्द्र पात्रो ( तामाङ क्यालेण्डर) अनुसार फागुन ४मा परेकोले ग्याल्बो ल्होछारको दिन नै सोनाम ल्होछार मनाईएको नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य एबम सप्तरी जिल्ला ईन्चार्ज भिम बहादुर घिसीङले बताए ।