जनकपुर, २३ माघ । प्रदेश नम्बर दुईको पहिलो सभा बैठकमा मातृभाषाहरुलाई बेवास्ता गर्दै हिन्दी भाषामा सांसदहरुले शुभकामना मन्तव्य व्यक्त गरेको भन्दै मङ्गलवार जनकपुरमा युवाहरुले विरोध प्रदर्शनसहित पुतला दहन गरेका छन् ।
जनकपुरको जानकी चोकमा स्थानिययुवाहरुले मातृभाषा मैथिली, भोजपुरी र अन्य मातृभाषालाई बेवास्ता गर्दै हिन्दी भाषामा प्रदेश सभामा मन्तव्य व्यक्त गरेको भन्दै आक्रोशित युवाहरुले राजपा नेपाल र फोरम नेपालको पुतला दहन गरेका हुन् । पुतला दहनको क्रममा स्थानिय प्रहरीसङ्ग केही बेर समान्य झडपको अवस्था समेत उत्पन्न भएको थियो ।
परिवर्तनका लागि युवा अभियानका प्रतिनिधि बिट्टु पंजियार सुडीको अध्यक्षता तथा रोशन यादवको अगुवाईमा नाराबाजी सहित पुतला दहन गरिएको हो । मातृभाषाको प्रयोग र वैदेशिक भाषाको सम्मान हुनुपर्ने स्थानिय युवाको माग रहेको अभियन्ता सुशील कर्णले बताए ।
कार्यक्रममा मोहन रौनियार, किसन मण्डल, सुमित मिश्र, सुरेन्द्र मण्डल, रबि ठाकुर, सन्जय गुप्ता, मनिष कोइराला, पप्पु यादव, कन्हैया मण्डल, राजु दास, मजिवुल राइन, अविनाश साह, आरएन सिंह लगायतका दर्जनौ युवाको उपस्थितिमा पुतला दहन गरिएको छ ।
तस्विरः घनश्याम मिश्र/जनकपुर
