राजविराज, २८ साउन । विगत चार दिन यताको अबिरल वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा आएको बाढीका कारण करिब दुई हजार दुई सय घर डुबानमा परेका छन् भने पाँच सय परिवार विस्थापित भएका छन् ।
जिल्लाको खाँडो, जिता, बिहुल, त्रियुगालगायतका नदीहरुमा आएको बाढीका कारण नगर तथा गाउँका वस्तीहरु डुबानमा परेको हो । तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर–५ कुशहा र बनरझुलाको वस्तीमा जिता नदीको बाढी पसेका कारण ३ सय ५० परिवार घर छाडेर सडक तथा सुरक्षित स्थानमा बसेका छन् । वर्षा नरोकिएका कारण चारैतर्फ पानी बगिरहेका कारण केही परिवार वस्तीबाट सुरक्षित स्थानसम्म पुग्न सक्ने अवस्था छैन ।कोशी नदीको पानी पसेर हनुमाननगर योगिनीमाई नगरपालिकाको वडा नम्वर ७ र १४ मल्हनियाँ टोलको ३ सय १० घर डुबानमा परेको छ भने ५० परिवार विस्थापित भएका छन् ।
यसैगरी तिलाठी कोइलाडी, सकरपुरा र बेल्हीको करिब ४ सय घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बाढीले खाँडो नदीको बाँध पौवाँ, बिरौल र देउरीभरुवामा भत्काउँदा डुमरी, शिबथान, फर्सैठ पकरी, पौवाँ, पिपराही, मलेठ, राजविराज नगरपालिकाको वडा नम्वर–४, ५, ६, ७, ८ र १५ को देउरी भरुवामा सहितका वस्तीहरुमा जलमग्न भएको छ । राजविराज नगरपालिकाको सडकहरुमा तीन फिटसम्म पानी बगिरहेकोले आवागमन समेत अवरुद्ध भएको छ ।
सरकारी कार्यालयहरुमा समेत बाढीको पानी पसेको छ । राजविराज नगरपालिकामा विगत डेढ दशक पछि यस्तो बाढी आएको हो ।वर्षा नरोकिएका कारण जिल्लाको रम्पुरामल्हनियाँ, तिलाठी, सकरपुरा, लौनियाँ, को.वर्साइन, बनरझुला, कुशहालगायतका वस्तीहरु जोखिममा परेको छ । यता जिल्लाको अति विकट मानिने गोबरगाढा बस्तीमा समेत सप्तकोशी नदीको पानी पसेका कारण त्यहाँका वासिन्दाहरु डुङ्गा चढेर सुरक्षित गन्तव्यतर्फ जान थालेका छन् ।बाढीले जिल्लाको हज्जारौं विघा धानबाली समेत डुबानमा परेको छ ।