राजविराज, ११ साउन । सप्तरीका पत्रकार एवम् सञ्चार उद्यमी शिवनारायण साह (हलुवाई)‘सुरज’लाई मातृशोक परेको छ ।
पत्रकार साहकी आमा फुलेश्वरी देवी साहको बुधवार विहान करिब ५ बजेको समयमा ९० वर्षको उमेरमा निधन भएको हो । मधुमेह तथा स्वासप्रश्वास समस्याबाट पीडित रहँदैआएकी साहको साबिक राजविराज नगरपालिका वडा नम्वर–१ हटिया स्थित आफ्नै घरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । साबिक भगवतपुर घर भएकी फुलेश्वरी देवी लामो समयदेखि पुस्तक तथा स्टेश्नरी व्यवसाय गरी राजविराजको व्यवसाय विकासका साथै विभिन्न धार्मिक एवम् सामाजिक गतिविधिमा सक्रिय रहँदैआएकी थिईन् । दयालु एवम् मिलनसार स्वभावकी उनका एक मात्र छोरा शिवनारायण तथा सात छोरीहरु रहेका छन् । सप्तकोशी व्यारेजमा लगेर बुधवारै अन्त्येष्टि गरिने तथा पत्रकार साहले मुखाग्नी दिने पारिवारिक श्रोतले जनाएको छ ।
पत्रकार साह विगत दुई दशकदेखि पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय रहँदैआएका छन् । कम्प्याक्ट कम्युनिकेशन प्रा.लि. अध्यक्ष समेत रहेका उनले सप्तरी सदरमुकाम राजविराजबाट न्यूज टुडे दैनिक, सत्यापन साप्ताहिक र न्यूज टुडे डट्कम डटएनपी अनलाइन सञ्चालन गर्दैआएका छन् । उनी नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघ सप्तरीका अध्यक्ष समेत हुन् । पत्रकार साह मधेशको पक्षमा सशक्त रुपमा आवाज बुलन्द गर्दैआएका छन् ।