• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

आँप कृषक अयोधीले पाए राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

आँप कृषक अयोधीले पाए राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

राजविराज, २ असार । पूर्वाञ्चलमै सर्वाधिक उत्कृट आँप खेती गर्ने सप्तरीको तिरहुत गाउँपालिका–४ का कृषक अयोधी यादव राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् ।
सिंचाई अभावमा वर्षौंदेखि बाँझो रहेको दश विघा बाँझो जमिनमा व्यवसायिक आँप खेती गरेका उनी गत विहीवार बिराटनगरमा आयोजित एक समारोहका बीच पुरस्कृत भएका हुन् । कृषि मन्त्रालयका सह–सचिव डा. योगेन्द्र कुमार कार्की र क्षेत्रीय कृषि निर्देशक हस्त वहादुर विष्टले ज्येष्ठ कृषक यादवलाई नगद २५ हजार, प्रमाणपत्रसहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको छ ।
साबिक डिमन गाविस–१ हाल तिरहुत गाउँपालिका–४ का का ८१ वर्षिय अयोधी जिल्ला हुँदै क्षेत्रीय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारकालागि छनौट भएका थिए । जिल्ला कृषि विकास कार्यालय सप्तरीले आँप खेतीतर्फ उनलाई पुरस्कृत गरेको थियो । जिल्लामा उत्कृष्ट भएपछि वरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवले उनको नाम क्षेत्रीय पुरस्कारकालागि नाम सिफारिस गरेको थियो ।
अगुवा आँप कृषक अयोधी पुरस्कृत भएकोमा खुशी भएका छन् । आफूले गरेको मेहनतको मूल्यांकन भएकोमा खुशी व्यक्त गर्दै उनले भने ‘कर्म गर्दै जाँदा पुरस्कृत हुने अवसर पाएकोमा गौरवान्ति भएको छु, मलाई विश्वास छ राष्ट्रियस्तरमा समेत पुरस्कृत हुनेछु ।
आँप कृषक अयोधी
सिंचाईको अभावमा २१ वर्ष अघिसम्म धान खेती सम्भव नभए पछि यादवको अधिकांस जग्गा बाँझै रहने गरेको थियो । बोरिङ्गबाट पानी तानेर धान रोप्न खोज्दा पनि अत्यधिक लागत बढेर निराश बन्न पुगेका उनले दश बिघा जग्गामा सिंचाई नभए पनि आम्दानी लिने नयाँ जुक्ति निकाली मेहनत थालेका थिए । व्यवस्थित तरिकाले विभिन्न जातका आँप, लिची, कागती र अम्बाका विरुवा लगाएर नियमित रेखदेख गर्दैआएका छन् ।
व्यवस्थित तरिकाले विभिन्न जातका आँप, लिची, कागती र अम्बाका विरुवा लगाएर नियमित रेखदेख शुरु गरे पछि उनले त्यसबाटै लाखौंको आम्दानी लिन थालेका छन् । सामान्य लेखपढ गर्न सिकेका अयोधीले रामायण, महाभारत, गर्ग संहिता, नर्सिंह पुरान, शिव पुराण, भागवत रहस्य लगायतका धार्मिक पुस्तकहरु खेतमा बनाएको झुप्रोमै बसी पढ्ने गरेका थिए । धार्मिक पुस्तकहरुमा रुख विरुवा लगाउँदा आयु बढ्ने र पुण्य मिल्ने कुरा उल्लेख रहेकोले त्यसैबाट आफूलाई पनि प्रेरणा जागृत भएको उनले बताए ।
भाइ र छोराहरु सबै उच्च शिक्षा अध्ययन गरी विभिन्न ओहदाको जागीरमा बाहिर रहेको र आफू पुख्र्यौली खेतीपातीको काममै लागेको बताउँदै उनले भने ‘भएको जग्गा सबै बाँझो रहँदा चिन्ताले सताउँथ्यो, आँप खेती शुरु गरेपछि त्यहि जमिनमा अहिले हरियाली छाएको छ ।’
उनका तीन छोरामध्ये जेठा चन्द्रनारायण सिनियर डिभिजनल इन्जिनियर छन् भने माइला दिनेश न्यायाधीश हुन् । कान्छो शिवराम सभासद्सम्म भई हाल राजनीतिमा सक्रिय छन् । छोराहरु सबै बाहिर रहेका कारण बगैंचा अयोधीका लागि मन बहलाउने माध्यम पनि बनेको छ । उनी दुई जना सहयोगीसित दिनभरी जसो त्यहीं बस्ने गर्दछन् ।
बगैंचाको घेरबेरका लागि छेउँमै बाँसको झाङ्ग समेत लगाएका अयोधीले छिमेकका जग्गावालाहरुलाई पनि फलफूल खेती गर्न सल्लाह दिने गरेका छन् । ‘चारैतिर अरुको जग्गा बाँझो देख्दा मलाई पनि चिन्ता लाग्छ’ उनले भने ‘फलफूल खेती गरे भने उनीहरुलाई पनि घेरबेरकालागि निःशुल्क बाँस दिने बताएको छु ।’
जागिरबाट अवकासप्राप्त जीवन कसरी बिताउने भन्ने चिन्ता पालेकाहरुलाई आफू जस्तै व्यवसायमा लागेर लाभ लिन उनको सुझाव छ । युवा वर्गले पनि वैदेशिक रोजगारी ताक्नु भन्दा आफ्नै गाउँ–ठाउँको बाँझो जग्गालाई हराभरा तुल्याउनेतिर मन लगाए विदेशको भन्दा पनि राम्रो आम्दानी कमाउन सकिने उनको सुझाव छ ।