राजविराज, ०५ बैशाख । गत चैत २४ गते अपहरणमा परेका भारतीय नागरिकलाई क्षेत्रीय प्रहरी कार्यालय सप्तरीले १२ दिन पछि सोमबार राती अपहरणकारीबाट मुक्त गराएका छन् ।
भारतको सुपौल जिल्ला, महुवा मझारी ग्राम पञ्चायत वडा नम्बर २ का राम असिस यादबका १८ वर्षिय छोरा प्रदिप यादवलाई स्थानिय दुई साथिहरुले नेपाल घुम्न जाने भनेर नेपाल ल्याएर अपहरणकारीको जिम्मा लगाएका थिए । अपहरणकारीले यादबका बुवालाई १२ लाख भारु फिरौति माग गरी नेपालबाट फोन गरे पछि छोरा अपहरण भएको कुरा थाहा पाई सप्तरी प्रहरी समक्ष यादबले गुहार लगाए पछि विषेश सुचनाको आधारमा प्रहरीले प्रदिपलाई अपहरण मुक्त गराएको अञ्चल प्रहरी प्रमुख बलराम शर्मा पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
प्रमुख पौडेलका अनुसार अञ्चल प्रहरी कार्यालयको पहलमा सवइनस्पेक्टर जवाहिर प्रसाद यादवको नेतृत्वमा खटिएको टोली र सिरहा प्रहरीको सहयोगमा यादबलाई अपहरण मुक्त गराएको हो । अपहरण कारीहरुले यादबलाई सिरहाको लहान नगरपालिका १५ स्थित रमेश लामाको घरमा लुकाई राखेको अवस्थामा अपहरण मुक्त गराएका थिए ।
अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले सिरहा लहानका ३५ वर्षिय रमेश लामा, सिरहा महदेवा पोर्ताहाका २५ वर्षिय किसुन देव यादव, धनगढी नगरपालिका १३ का ३५ वर्षिय जयराम यादब र सप्तरी इटहरी विष्णुपुर ७ का २२ वर्षिय दिपु भन्ने दिपनारायण यादबलाई पक्राउ गरेका छन । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा ११ जना संलग्न रहेको देखिएकोले उनीहरुको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।