राजविराज, ४ वैशाख । विगत ६ दिनदेखि अनिश्चिकालीन धर्नामा बसेका पत्रकारहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सप्तरीका युवाहरुले सोमवार राजविराजमा ऐक्यवद्धता जुलुस प्रदर्शन गरेको छ ।
विगत ६ दिनदेखि निरन्तर धर्नामा बस्दा पनि माग सम्वोधन नभएकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरुले ऐक्यवद्धता जुलुस प्रदर्शन गरेका हुन् । नेपाल पत्रकार महासंघ अगाडिबाट निकालिएको पत्रकारहरुको र्यालीसँगै सप्तरी युथ नेपालको व्यानरमा उनीहरुले ऐक्यवद्धता जुलुस प्रदर्शन गरेका छन् ।
‘पत्रकार महासंघमा राजनीतिक हस्तक्षेप बन्द गर, सप्तरीका पत्रकारहरुको माग अविलम्ब सम्वोधन गर, विभेदकारी चश्माले हेर्ने काम बन्द गर, पत्रकारहरुको भावनालाई सम्मान गर, केन्द्रीय समितिको हैकमवादी शैली बन्द गर’ लगायतका नाराहरु लगाउँदै उनीहरुको जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।
नगर परिक्रमा पश्चात आयोजित कोणसभामा बोल्दै युथ नेपालका उपाध्यक्ष मोहन यादवले अविलम्व माग सम्वोधन गर्न केन्द्रीय समितिसँग आग्रह गरेका छन् । माग सम्वोधनमा ढिलाई भए आफूहरु थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत उनले दिए ।
यसैबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले समेत आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । उनले महासंघ जस्तो गरिमामय संयठनलाई विभेदकारी चरित्र नदेखाउन आग्रह गरेका छन् ।