काठमाण्डौ, १ वैशाख । सप्तरीका पत्रकारहरुले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयमा तालाबन्दी गरी दिइरहेको धर्ना तीन दिन पूरा गरेको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यसमितिका पदाधिकारीसहित सकृय पत्रकारहरु काठमाण्डौ पुगेर तालाबन्दी गरी बुधबारदेखि धर्ना दिन शुरु गरेका हुन् । सप्तरीका पत्रकारहरुले आन्दोलन थालेपछि ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै गएको छ । केन्द्रिय पदाधिकारीहरुले मनोमानी गरेको भन्दै पत्रकारसँग सम्बन्धित संघ संगठनले अबिलम्ब सप्तरीका पत्रकारहरुको माग पूरा गर्नुपर्ने बताएका छन् । शुक्रबार आन्दोलनमा ऐक्यबद्धता जनाउन पत्रकार संगठनका पदाधिकारीका साथै नागरिक अगुवाहरु पनि आएका छन् ।
ऐक्यबद्धता जनाउन आएका प्रेस सेन्टरका केन्द्रिय अध्यक्ष महेश्वर दाहालले सप्तरीको विवाद धेरै दिनसम्म रहेको र यसलाई केन्द्रिय समितिले मिलाउन नसक्नु बिडम्बना भएको बताए । उनले आफूले यो समस्या चाँडै समाधान गर्न केन्द्रसँग आग्रह गरेको बताउँदै समाधान नभए आफूले सदस्यता परित्याग गर्दै महाधिवेसनमा भाग नलिने चेतावनी दिएको जानकारी दिए ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयका सल्लाहकार पोषण केसीले समेत केन्द्रीय पदाधिकारी मनमानी तरिकाले अघि बढेकै कारण यस्तो समस्याहरु आएको बताउँदै अबिलम्ब समाधान गर्न केन्द्रिय समितिसँग आग्रह गरे । नेपाल मानवअधिकार संगठनका महामुनेश्वर आचार्य र इन्द्र प्रसाद अर्यालले पनि माग पूरा गर्नुपर्ने बताए ।
यस्तै नागरिक समाजका अगुवाहरु चरण प्रसाइँ, युग पाठक, पूर्व राजदूत डा. सुरेश चालिसे, बिरेन्द्र प्रसाद मिश्र, कृष्णा गौतम, डा. केदार नरसिंह केसी, गणेश मण्डलसहितकाले सप्तरीका पत्रकारहरुको माग अबिलम्ब पूरा गर्नुपर्नेमा जोड् दिएका छन् ।
यस्तै सप्तरीका सांसद सकलदेव सुतिहार, रञ्जु ठाकुर, नेपाल सद्भावना पार्टीका सांसद डिम्पल झा, तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनल, पूर्व मन्त्री जयप्रकाश गुप्ता, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जली कुमार झासहितकाले सप्तरीका पत्रकारहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रबण कुमार देबको नेतृत्वमा बिभिन्न संचार माध्यममा आबद्ध क्रियाशिल पत्रकारहरु महासंघको केन्द्रिय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी सहित धर्ना बसेका हुन् । स्थानियस्तरमा बिभिन्न चरणमा आन्दोलन गर्दे आएपनि महासंघको केन्द्रिय समिती र क्षेत्रिय समितिले जिम्मेवारीपना नदेखाएपछि सप्तरीका पत्रकारहरु राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।
नेपाल पत्रकार महासंघ सप्तरीमा बहुमत कार्यसमितीले गरेको निर्णय, दुई तिहाई भन्दा बढी सदस्यहरुको निर्णय तथा पूर्व सभापतिहरुको सुझाव समेतलाई लत्याउदै महासंघको केन्द्रिय समितीले एकलौटी रुपमा अनाधिकृत तवरले हस्तक्षेप गर्न खोजेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको संघर्ष समितिका प्रवक्ता जितेन्द्र जितुले बताए । पत्रकार महासंघ कुनै दल विशेषको भातृ संगठन बनाउन खोजेको भन्दै उनले नेपाली पत्रकारको साझा थलोको महासंघलाई अगाडि आउनुपर्ने बताए ।
यसैबीच आन्दोलनरत पत्रकार र महासंघका पदाधिकारीबीच पहिलो चरणको वार्ता भएको छ । शनिबार पुनः वार्ता हुनेछ । पहिलो चरणको वार्तामा कुनै निष्कर्ष पुग्न सकेको छैन् ।