राजविराज, १७ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको विहीवार बसेको बैठकले स्थानीय निकायमा लगाईएको ताला स्थानीय प्रशासनले तोडेकोप्रति खेद व्यक्त गरेको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीका अध्यक्ष तथा मोर्चाका कार्यवाहक संयोजक सतिश कुमार सिंहको अध्यक्षतामा सम्पन्न बैठकले चैत ३ गतेदेखि जिल्ला विकास समिति सप्तरीको कार्यालय र राजविराज नगरपालिकाको कार्यालय लगायत जिल्लाका सम्पूर्ण स्थानिय निकायका कार्यालयहरुमा लगाएको ताला स्थानिय प्रशासन र प्रहरी मिलेर जिविस र रावि नपाको तालाबन्दी तोडेकोप्रति खेद व्यक्त गरेको हो । तालाबन्दी तोड्ने कार्य अब उपरान्त भए मोर्चा प्रहरी प्रशासन विरुद्ध नै आन्दोलनमा उत्रनुका साथै जिल्लास्थित सरकारी कार्यालयहरुमा हुने क्षतिको जिम्मेवार स्वंम स्थानिय प्रशासन नै हुने मोर्चाका कार्यवाहक अध्यक्ष सिंहद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ ।
बैठकमा स्थानिय निकायको नयाँ संरचना अनुसार कुनै पनि कामकाज नगर्न नगराउन जिल्लाका विभिन्न स्थानिय निकायका प्रमुख एवं गाविस सचिवहरुलाई समेत आग्रह गरिएको छ । नयाँ संचरना अनुसारको कामकाज गरिएको पाइएमा त्यस्ता प्रमुख र गाविस सचिवहरुलाई सम्बन्धित कार्यालयहरुमा हुने क्षतिको जिम्मेवारी स्वंम सम्वन्धित कार्यालयहरुको प्रमुख नै हुने भन्दै चैत १८ गतेदेखी जिल्ला मालपोत कार्यालयले पुरानो संरचना अनुसारको राजश्व, रजिष्ट्रशन तथा अन्य शुल्क नलिए सोही कार्यालयमा तालाबन्दी गर्ने निर्णय भएको कार्यवाहक संयोजक सिंहले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।