राजविराज, ६ चैत । आर्थिक अभावका कारण जिवन–मृरणको दोसाँधमा रहेका एक राम परिवारका शिशुको जिवनरक्षा गर्न विशेष पहल गरेका छन् सप्तरीको सचेत युवा जागरण नामक युवा समूहले ।
जिल्लाको विसहरिया–७ घर भएका तीन साता अघि मात्र समय नपुगी जन्मिएका सचिन्द्र राम तथा मली देवी रामका छोराको जिवनरक्षाकालागि युवाहरुले पहल गरेका हुन् । गत फागुन १२ गते विराटनगर स्थित नोबेल मेडिकल कलेजमा मली देवीले असमय अर्थात सात महिनाको शिशुलाई जन्म दिएकी थिईन् । अति सम्वेदनशील अवस्थाका कारण उक्त शिशुलाई एनआसीमा ९ दिनसम्म राखेर केही दिन जेनरल वार्डमा राखिएको थियो । 
शिशुको अवस्थामा सुधार आउँदै गएपछि पाँच दिन अघि मात्र शिशुलाई लिएर राम परिवार घर फर्केका थिए । उक्त शिशुलाई स्वासमा समस्या देखिएपछि सदरमुकाम राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरे । अस्पतालमा सेवा दिँदैआएका बालरोग विशेषज्ञ डा. सरोजकुमार यादव समेत विदामा थिए । अस्पतालका प्रमुख समेत उपस्थित थिएन ।
अस्पतालमा चिकित्सक नै नभएको अवस्था तथा शिशुको सम्वेदन अवस्था थियो । अस्पतालमा स्वयंसेवकको रुपमा काम गर्दैआएकी एकमात्र चिकित्सक डा. पल्लवी मिश्राले शिशुको अवस्था सम्वेदनशील रहेको भन्दै अन्यत्र लान सुझाव दिईन् । तर राम परिवारसँग एम्बुलेन्स भाडासम्म उपलब्ध नरहेकोले जिवनमरणको दोसाँधमा रहेका शिशुलाई हेर्दै हजुर आमा अमिरकादेवी र मली देवी रोईरहेकी थिईन् । कारण थियो नोबेल मेडिकल कलेजमा भर्ना रहँदा गाउँकै साहु महाजनबाट ऋण काढेर करिब साढे दुई लाख खर्च भईसकेको थियो ।
शिशुलाई हेरेर रुनु वाहेक केही विकल्प नरहेको अवस्थामा सचेत युवा जागरणका संयोजक पार्थो सरकारसहितका युवाहरुको टोली पुगेर वास्तविकता बुझ्दै चिकित्सकहरुलाई फोन गर्दा कोही उपलब्ध भएन । अस्पताल विकास समितिका अध्यक्ष डा. चिरञ्जीवी लाल देवलाई फोन गर्दा समेत वास्ता नगरेको उनले बताए ।
युवा जागरणका सिता प्रसाद यादव, मुकेश चौधरी, गङ्गा सागर गुप्ता, मो. प्रवेज, प्रेम यादव, महेश यादव, मनोज यादव, राकेश ठाकुर समेतले शिशुको जिवन बचाउन विभिन्न उपायहरु खोज्न थाले । करिब दुई घण्टाको प्रयास पश्चात विपी विचार समाजले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको समाजका कोषाध्यक्ष शम्भुलाल देवले जानकारी दिएका छन् ।
शिशुलाई करिब चार बजेको समयमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । त्यहाँ शिशुलाई एनआसीमा राखेर उपचार थालिएको छ । शिशुको उपचारकालागि सांसद रञ्जित कर्णले अस्पतालमा निःशुल्क व्यवस्था मिलाएको युवा जागरणका संयोजक सरकारले बताए । आफूहरुले निःस्वार्थ रुपमा पार्टीभन्दा माथि उठेर स्वयम्सेवी युवाहरु मिलेर सामाजिक कार्यमा अगाडि बढिरहेको उनले जानकारी दिएका छन् ।