राजविराज, २५ फागुन । सप्तरीको मलेठमा घटनामा प्रहरीको गोली लागेर मृत्यु हुनेको चार पुगेको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ सप्तरीको मलेठ गाउँ विकास समितिको वडा नम्वर–२ घर भएका अन्दाजी ३२ वर्षिय बिरेन्द्र महतोको बुधवार विहान मृत्यु भएको हो । गत सोमवार नेकपा एमालेले आयोजना गरेको मेची महाकाली राष्ट्रिय अभियान विरुद्ध प्रदर्शनका क्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा महतोसहित ११ जनालाई गोली लागेको छ भने लाठी प्रहारबाट दुई दर्जन भन्दा बढी घाइते भएका छन् ।
पेटमा शट गनको गोली लागेका महतोको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाले जानकारी दिएका छन् । यस अघि प्रहरी चलाएको गोली लागेर मलेठ गाविस वडा नम्वर– २ का २५ वर्षिय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षिय पीताम्बर मण्डल र प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षिय सिनियर अहेव आनन्द कुमार साहको मृत्यु भएको थियो ।
यसैगरी पेटमा गोली लागेका जमुनी निवासी इनरदेव यादवको अवस्था गम्भीर रहेको तथा अन्यको सघन उपचार भईरहेको धरानबाट सदभावना पार्टी सप्तरीका अध्यक्ष झाले जानकारी दिएका छन् । उनका अनुसार हाटीका दिलिप यादवलाई छातीमा गोली लागेको छ । राजविराज नगरपालिका वडा नम्वर–६ का सुरेन्द्र साहलाई घाँटीमा, सिरहा घर भएका अधिवक्ता दिगम्बर यादवलाई पिठ्युमा तथा राम्पुरामल्हनिया गाविस वडा नम्वर–४ डलवाका अरुण कुमार यादवलाई गोलीको छर्रा लागेको छ ।
उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सघन उपचार भईरहेको छ भने शरिरमा रहेको गोली झिक्ने काम भएको छ । सोही अस्पतालमा बोरियाका जितन साह, राजविराज–३ का दिनेश साह, झुटकी गाविस–४ का विरेन्द्र यादव, लोखरम–३ का जकु साहलगायतको उपचार भईरहेको छ ।