राजविराज, २३ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका अवरोधका बावजुद व्यापक सुरक्षा घेराका बीच नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सप्तरी सोमवार आईपुगेका छन् ।
पूर्व निर्धारित भारदह, हुनमाननगर, राजविराज हुँदै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र प्रवेश गर्ने कार्यक्रम रहे पनि ओली भारदह, बरमझिया, कञ्चनपुर, महुली, रुपनी हुँदै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रतर्फ लागेका छन् । मोर्चाको अवरोधलाई छिचोल्दै एमाले अध्यक्ष ओलीलाई सुरक्षाकर्मीको टोली स्कर्टिङ्ग गरेर कार्यक्रम स्थलसम्म पुर्याएका छन् । भारदह बजार क्रस गर्ने क्रममा अवरोध पुर्याउने उमेश मिश्र र गजेन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको छ । 
यता मोर्चाले भने जिल्लाको विभिन्न सडकका चौकहरुमा टायर बालेर लाठी फट्ठासहित प्रदर्शन गरिरहेका छन् । कार्यक्रम स्थल औद्योगिक क्षेत्र वरिपरी आवश्यक तयारीका साथ व्यापक संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
कार्यक्रमलाई लक्षित गरी औद्योगिक क्षेत्रदेखि करिब दुई सय मिटर उत्तर फेला परेको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । कार्यक्रम स्थलको आसपास क्षेत्रमा समेत व्यापक संख्यामा मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । मोर्चाको अवरोधले गर्दा जिल्लाका एमाले कार्यकर्ताको उपस्थिति न्यून देखिएको छ । यद्यपी ओलीसँगै करिब एक हजार भन्दा बढी कार्यकर्ताहरु समेत औद्योगिक क्षेत्रको कार्यक्रममा सहभागी भएका छन् । 

