• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा एक लाख २१ हजार ७ सय ५८ बालबालिकालाई पोलियो थोपा खुवाइँदै

सप्तरीमा एक लाख २१ हजार ७ सय ५८ बालबालिकालाई पोलियो थोपा खुवाइँदै

राजविराज, २० फागुन । शनिवार र आइतवार सप्तरी जिल्लामा सञ्चालन हुन लागेको पोलियो खोप अभियानका क्रममा जन्मदेखि पाँचवर्ष मुनिका एक लाख २१ हजार ७ सय ५८ बालबालिकालाई पोलियो थोपा खुवाउन लागिएको छ ।
पोलियो विरुद्धको उक्त औषधी खुवाउने अभियानको सम्पूर्ण तयारीहरु पुरा भईसकेको शुक्रवार जिल्ला जनस्वास्थ्य कार्यालयले राजविराजमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका छन् । पोलियो थोपा खानबाट पाँच वर्षमुनिका कुनै पनि बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यले जिल्लाका १ सय १६ स्वास्थ्य संस्थासमेत गरी कुल १ हजार ९१ खोपकेन्द्र राखिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत नरेन्द्र प्रसाद चौधरीले जानकारी दिएका छन् । उनका अनुसार अभियानकालागि २ हजार ८२ जना स्वयंसेवक, १ हजार ७८ महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरिएको छ । यसैगरी राजविराज नगरपालिकाको १० वटा वडामा सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै ३२ ओटा खोपकेन्द्र राखिएको जनस्वास्थ्य प्रमुख चौधरी बताएका छन् ।
कार्यक्रममा बोल्दै डब्लुएचओका प्रतिनीधि श्रीराम साहले २०१० यता नेपालमा पोलियो रोगी नभेटिएको भन्दै नेपालबाट रोग उन्मुलन भईसकेको जानकारी दिए । जिल्लाका अहेवहरु आन्दोलनरत रहेको अवस्थामा अभियानमा सामान्य असर पर्ने भन्दै मानवीय संवेदनालाई मध्यनजर गर्दै सबैपक्षलाई आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन जनस्वास्थ्य कार्यालयका अधिकृत छेदी यादवले बताएका छन् । कुनै पनि बालबालिका नछुटोस् यसकालागि पहिलो दिन खोपकेन्द्र र दोस्रो दिन स्वंयसेविकाले घरघरमै पुगेर छुटेका बच्चाहरुलाई पोलियो थोपा खुवाईने पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । कार्यक्रममा राजविराज सहरी स्वास्थ्य सेवा क्लिनिकका ईञ्चार्ज दिनेश साहले नगरपालिकामा खोपकेन्द्रको व्यवस्थाबारे प्रष्ट पारे ।