राजविराज, ४ फागुन । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सदस्यता नविकरण, नयाँ सदस्यता लगायतका विषयको टुङ्गो लगाएर अधिवेशनको मिति तोक्न जिल्ला स्थित पत्रकार सम्वद्ध संस्थाहरुले माग गरेको छ ।
संघीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, प्रेस युनियनका जिल्ला कार्यवाहक अध्यक्ष रामनारायण विश्वास, नेपाल प्रेस सेन्टर सप्तरीका अध्यक्ष गोपाल प्रसाद गुप्ता र प्रेस मञ्चका जिल्ला अध्यक्ष शुभचन्द्र झाले मङ्गलवार संयुक्त प्रेस विज्ञप्तिमार्फत महासंघ केन्द्रीय समितिको ध्यानाकर्षण गराएका हुन् । महासंघमा हाल कायम रहेको असहज परिस्थितिलाई सहज तुल्याई विवाद समाधान गर्न समितिको ध्यानाकर्षण गराउँदै संयुक्त प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘महासंघ केन्द्रीय समितिद्वारा पुर्वाञ्चलका जिल्लाहरुको अधिवेशन आगामी फागुन ७ गते तोकिएको छ, यद्यपी नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अधिवेशन अझैं अन्यौलग्रस्त रहेको छ ।’
महासंघमा रहँदैआएको विवाद विशेष साधारणसभाले दुई तिहाई बहुमतबाट पारित गर्दैै टुङ्गो लगाईसकेको भन्दै महासंघका अध्यक्ष प्रकाश खतिवडाको कार्यशैली तथा आर्थिक हिनामिना लगायतका विषयलाई लिएर विशेष साधारणसभाले उनलाई पदमुक्त गर्दै समितिका उपाध्यक्ष श्रवण देवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ । विशेष साधारण सभाले विवादको टुङ्गो लगाउँदै वर्षौं महासंघको भवनमा लगाईएको तालाबन्दी समेत खोलेर महासंघको दैनिक कामकाज सञ्चालन हुँदैआएको सबैमा अवगत गराउँदै विज्ञप्तिमा अगाडि भनिएको छ ‘साधारणसभा पश्चात कार्यवाहक अध्यक्ष देवको नेतृत्वमा रहेको बहुमत कार्यसमितिले सदस्यता नविकरणको सिफारिससहित बैंकमा सो वापतको रकम समेत जम्मा गरिसक्दा पनि अधिकांश पत्रकारको सदस्यता नविकरण नगरेको तथा नयाँ सदस्यताकोलागि पठाईएको सिफारिसलाई समेत बेवास्ता गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
सिङ्गो कार्यसमितिले गरेको निर्णयलाई बेवास्ता गर्दै अध्यक्षको जिम्मेवारीबाट मुक्त भईसकेका व्यक्तिको ईशारामा नेकपा एमालेका कार्यकर्ता, कन्टेक्टर, खलासी, ब्यापारी, पान विक्रेता, गृहिणीसमेतको ४० जनाको नामावली तयार गरी सिफारिस पठाईएको तथा केन्द्रले त्यसलाई पारित गरेको भनी बुझिन विज्ञप्तिमा जनाईएको छ । ‘पत्रकार महासंघ जस्तो वौद्धिक संस्थामा वर्षौंदेखि पत्रकारितामा कलम चलाउँदैआएका पत्रकारहरुको सदस्यता नविकरण नहुनु तथा पार्टी कार्यकर्ताहरुलाई सदस्यता वितरण गर्नुले पार्टीको भातृ सङ्गठन बनाउन लाग्नु तथा केन्द्रीय समितिले वास्तविकता नबुझ्नुले हामीलाई चिन्तित तुल्याएको छ’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘यता विवादको टुङ्गो नलागिकनै महासंघको सप्तरी शाखाका नामबाट फागुन ७ गते जिल्ला अधिवेशन हुने सूचना खतिवडा पक्षबाट जारी भएकोले सोको भ्रममा नपर्न आग्रह गर्दछौं ।’
डा. महेन्द्र विष्ट जस्ता श्रमजीवी पत्रकारको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिबाट पेशागत पत्रकारिताले प्रोत्साहन पाउनुपर्नेमा महासंघको हित विपरित कार्य गर्ने केही सिमित व्यक्तिहरुलाई प्रश्रय दिएको विज्ञप्तिमा उल्लेख छ । महासंघको सप्तरी शाखामा सदस्यता, सदस्यता नविकरण लगायतका विषयको टुङ्गो नलगाईकन गरिने अधिवेशनले विवाद मात्र बढाउने, निकास नदिने वास्तविकतातर्फ गम्भीर हुन आग्रह गरिएको छ ।
महासंघ सप्तरी शाखा आवद्ध सम्पूर्ण न्यायप्रेमी साथीहरुलाई श्रमजीवी पत्रकारमाथि परेको अन्याय विरुद्ध एकतावद्ध भई अघि बढ्न आह्वान गर्दै अगाडि भनिएको छ ‘महासंघको विवाद समाधान गरी अविलम्व साधारणसभाको तिथि निर्धारण गर्न केन्द्रीय समितिसँग आग्रह छ ।’ पत्रकारमाथि परेको पीडाप्रति गम्भीर भई सिघ्र समाधानको पहल नभए श्रमजीवी पत्रकार र नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अस्तित्व र स्वाभिमान रक्षाकालागि बाध्य भई चरणवद्ध आन्दोलनमा उत्रने यसै संयुक्त प्रेस विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।