• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्ने खतराः जिशिअ पाण्डे

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्ने खतराः जिशिअ पाण्डे

राजविराज, २८ माघ । सप्तरीका जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले नयाँ अभ्यास र प्रयास नगरे सामुदायिक विद्यालयमा विद्यार्थी संख्या क्रमशः घटेर जाने खतरा रहेको बताएका छन् ।
बोरिया स्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयको अद्र्ध वार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उनले नयाँ असल अभ्यास र प्रयासकालागि विद्यालय, व्यवस्थापन समिति र समुदाय दत्तचित्त भई अघि लाग्नुपर्नेमा जोड दिए । शैक्षिक गुणस्तर उकास्न विद्यालयमा शिक्षकको नियमित उपस्थिति, समयमा उपस्थिति आवश्यक रहेको भन्दै उनले यसकालागि आफू पनि सक्दो प्रयासमा रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, दाता परिवारका विरेन्द्रनारायण देवलगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक खिलानाथ गौतमले शैक्षिक गुणस्तर वृद्धिकोलागि साथ दिन अभिभावक, व्यवस्थापन समिति, जिल्ला शिक्षा कार्यालय र सरोकारवाला पक्षलाई आग्रह समेत गरे ।
उक्त अवसरमा शिक्षक रामजतन साहलाई ‘जाँगरिलो शिक्षक पुरस्कार’ र कक्षा ८ का वर्ग शिक्षक भोगीलाल साहलाई ‘समर्पित शिक्षक पुरस्कार’बाट सम्मानित गरिएको छ । कार्यक्रमको सञ्चालन शिक्षिका निर्जला अधिकारीले गरेकी थिईन् ।