• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पर्सा जिल्लाका हेल्थ असिष्टेन्टहरु धर्नामा

पर्सा जिल्लाका हेल्थ असिष्टेन्टहरु धर्नामा

वीरगञ्ज, १९ पुस । जिल्ला जनस्वाथ्य कार्यालय पर्साले स्वास्थ्य चौकीको ईन्चार्ज सम्वन्धि विवाद समाधान नगरेको भन्दै पर्साका हेल्थ असिष्टेन्टहरु मङ्गलवार तेस्रो दिन पनि धर्नामा बसेका छन् ।
आन्दोलन समितिका संयोजक धर्मेन्द्रराय यादवको नेतृत्वमा पुस १७ गतेदेखि चरणवद्ध आन्दोलनमा उत्रेका हुन् । स्वाथ्यकर्मीहरुले जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले आफुहरुको माँगलाई वेवास्ता गरेको आरोप लगाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान, नेपाल सरकारको तेरिज, मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय हेटौडा, पुनरावेदन अदालत कास्की, जिल्ला जनस्वास्थ्य कार्यालय सिरहा, महेन्द्रनगर लगायतका जिल्लाहरुले सम्पुर्ण हेल्थ असिष्टेन्टहरु नै ईन्चार्ज हुने भनेर निर्णय गर्दा समेत जिल्ला जन स्वास्थ्य कार्यालय पर्साले सो निर्णय नमानेको हेल्थ असिष्टेन्ट संघ पर्साका अध्यक्ष रविन्द्र साहले बताएका छन् ।
साहले नेपाल सरकारको २०७१ ÷०९ ÷२४ गते को निर्णय बमोजिम पारित भएको संगठनात्मक सरंचना र दरवन्दी तेरिजमा साथै स्वास्थ चौकीहरुको प्रमुखमा हे .अ (तह ५,६ र ७) कायम गरेको भएपनि सि.अ.हे.ब छैठौंको दवाबमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले नेपाल सरकारको निर्णयलाई समेत नमानेको आरोप लगाए ।
हेल्थ असिष्टेन्ट संघ पर्सा नेपालले पुस १७ गते पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो भने पुस १७, १८ र १९ गते कार्यालयमा धर्ना दिने तथा पुस २० गतेदेखि अनिश्चितकालिन तालाबन्दी गर्ने निर्णय गरेको आन्दोलन समितिका संयोजक धर्मेन्द्रराय यादवले बताए ।
धर्ना कार्यक्रममा हेल्थ असिष्टेन्ट नेपालका केन्द्रीय सदस्य अनिल कुमार यादव, हेल्थ असिष्टेन्ट पर्साका उपाध्यक्ष सुनिल कुर्मी, सचिव राजु साह, सदस्यहरु शिवनारायण मण्डल, सञ्जय यादव, विनु श्रेष्ठ, अप्सरा देवकोटा, सञ्जीता ढकाल, बबिता साह, भगवती भट्ट, शर्मिला मल्ललगायत ६० जना भन्दा बढी हेल्थ असिष्टेन्टहरुको उपस्थिति रहेको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख आनन्दोलनको कारण कार्यालय आउन छोडेको र निमित प्रमुख आन्दोलनबारे बोल्न नमानेको आन्दोलनमा सहभागी अनिल कुमार यादवले आरोप लगाए । बुधवार १० बजे जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा तालाबन्दी गर्ने जानकारी दिईएको छ ।