राजविराज, १५ पुस । संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको सहमती कार्यान्वयन नभएसम्म देशमा कुनै चुनाव नहुने दावी गरेका छन् ।
सप्तरीको सकरपुरा गाउँ विकास समितिको वडा नम्वर–४ स्थित बजरङ्ग युवा क्लवद्वारा सञ्चालित क्रिकेट प्रतियोगिताको शुक्रवार उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । सरकार गठन गर्ने समयमा मोर्चासँग भएको सहमती कार्यान्वयन नभएसम्म स्थानीय निकायलगायत कुनै पनि चुनाव हुन नदिने दावी गर्दै उनले भने ‘वर्तमान संविधानमा मधेशी आदिवासी, जनजातीको भावना अनुरुप संशोधन नभएसम्म चुनावको कल्पना गर्नु दिवास्वप्न जस्तै हो ।’
स्थानीय चुनाव गराउने विषयमा तीन दल बीच आन्तरिक सहमती भईरहेको भन्दै यो सहमतीले संघीयता ओझेलमा पार्ने षडयन्त्र भईरहेको नेता साहले टिप्पणी गरे । कार्यक्रमका प्रमुख अतिथि साहले भने ‘वर्तमान सरकार यदि जिम्मेवार भईदिएको भए तीन बुँदे सहमती उहिले कार्यान्वयन भईसक्थ्यो ।’
बजरङ्ग युवा क्लवद्वारा सञ्चालित उक्त प्रतियोगिताको उद्घाटन खेलमा को. बर्साइन टिम विजयी भएको छ । टस जितेर को. वर्साइन टिमले ८ विकेटको क्षतिमा १६८ रन बनाउन सफल भए । लौनियाँ टिमले ११७ रन मात्र बनाउन सफल भए ।
उद्घाटनका अवसरमा स्थानीय बैजु मुखिया, रामचन्द्र राय, दिपक देव, अबोध झा, पवन सिंह, खेलानन्द यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।