राजविराज, १३ पुस । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राजविराजमा सम्पन्न भारोत्तोलन प्रतियोगिता १४ नयाँ किर्तिमान कायम भएको छ ।
सप्तरी सदरमुकाम राजविराजमा सम्पन्न प्रतियोगितामा ६ स्वर्ण, ८ रजत र १ कास्य सहित १५ पदक जितेर नेपाली सेना प्रथम भएको छ । यसैगरी ६ स्वर्ण, ३ रजत र ३ कास्य सहित १२ पदक जितेर नेपाल प्रहरी दोश्रो स्थानमा रहन सफल भएको छ ।
यसैगरी २ स्वर्ण, २ रजतसहित ४ पदक ल्याएर पुर्वाञ्चल विकास क्षेत्र तेश्रो स्थान प्राप्त गरेको छ । यस्तै मध्यपश्चिमाञ्चलले १ स्वर्ण र ३ कास्य सहित ४ पदक ल्याएर चौथो र १ रजत र ४ कास्य गरी ५ पदक ल्याएर सुदुरपश्चिमाञ्चलले पाँचौ स्थान पाएको छ । मध्यमाञ्चलले १ रजत र २ कास्य, २ कास्य जितेका छन् ।
भारत्तोलन प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको अर्को विभागीय टोली सशस्त्र प्रहरीले भने कुनै पनि पदक ल्याउन सकेन । प्रतियोगिताका क्रममा विभिन्न तौल समुहमा गरी १४ वटा नयाँ किर्तिमान कायम भएको भारत्तोलन संघका केन्द्रीय सचिव तिलक वहादुर राउतले जानकारी दिएका छन् ।
, प्रतियोगिताको अन्तिम दिन वुधवार सम्पन्न पुरुषतर्फ १०५ केजी तौल समूहमा नेपाल प्रहरीका गगन चन्दले २१४ केजी भार उठाएर स्वर्ण पदक जितेका छन् । सो तौल समुहमा नेपाल प्रहरीकै विपेन्द्र महर्जनले २१३ केजी उठाएर रजत तथा मध्यमाञ्चलका मो। अस्ताकि हुसैनले १९७ केजी उचालेर कास्य पदक जितेका छन् । 
पुरुषतर्फको प्लस १०५ केजी तौलमुहमा नेपाली सेनाका पुकार गुरुङ्गले २५९ केजी तौल उचालेर स्वर्ण पदक प्राप्त गर्दै नयाँ किर्तिमा कायम गरेका छन् । सन २०१५ मा सम्पन्न एशियन च्याम्पियनसिपमा स्न्याचतर्फ १२३ केजी उचालेर बनाएको आफनै रेकर्ड तोडेर उनले नयाँ किर्तिमान वनाएका हुन् । उनले वुधवारको खेलमा स्न्याचतर्फ १२४, क्लिन एण्ड जर्कतर्फ १३५ केजी उठाएका थिए । सोहि तौल समुहमा मध्यमाञ्चलका राजिव महर्जनले २०३ केजी उचालेर रजत तथा सुदुरपश्चिमाञ्चलका सुभाष उपाध्यायले २ सय केजी उचालेर कास्य पदक प्राप्त गरेका छन् । कुल १५ स्वर्णका लागि भएको प्रतियोगितामा जम्मा १२३ खेलाडिले सहभागिता जनाएका थिए ।
पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल, राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमाल, प्रमुख जिल्ला अधिकारी वलदेव गौतम, कृष्ण दल गणका गणपति गजेन्द्र वोहोरा, भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश यादव, सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय राजविराजका एसपी जयवहादुर खड्का लगायतले विजयी खेलाडिहरुलाई पुरस्कार वितरण गरेका छन् ।


