• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

माफी मागेपछि सप्तकोशी नपा अधिकृत पोखरेल रिहा

माफी मागेपछि सप्तकोशी नपा अधिकृत पोखरेल रिहा

राजविराज, ११ पुस । महिला हिंसाको आरोपमा पक्राउ परेका सप्तरीको सप्तकोशी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पोखरेल सार्वजनिक रुपमा माफी मागेपछि रिहा भएका छन् ।
प्रहरीले आइतवार राति वडा नं. १ स्थित फत्तेपुरमा लुकिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिई प्रहरीले पोखरेललाई रातभरी स्थानीय चौकीमा राखेको थियो । आफनै कार्यालयकी महिला कर्मचारीलाई ब्ल्याकमेल गरी यौनजन्य कृयाकलाप गर्न खोजेको आरोपमा कुटपिट भएपछि आईतवारदेखि नै पोखरेल लुकेर हिँड्दैआएका थिए । पीडित महिलाका आफन्तले खोजतलास गरी प्रहरीमा जानकारी गराएपछि उनलाई पक्राउ गरिएको थियो ।
रातभर चौकीमा वसेका पोखरेलले सोमवार विहानै आफुवाट गल्ती भएको भन्दै सार्वजनिक रुपमा माफि मागेपनि चौकी घेरेर वसेका सर्वसाधारणले उनलाई कानुनी कारवाही र जागिरवाट वरखास्त गर्नुपर्ने माग गरेका थियो । ईलाका प्रहरी कार्यालय कञ्चनपुर हुदै राजविराज ल्याईएका उनलाई जिल्ला प्रशासन कार्यालयमा हाजीर गराईएको थियो ।
पीडित महिला, उनका आफन्त, स्थानीयवासी तथा सप्तरीका सम्पुर्ण सुरक्षा निकायका प्रमुख समेतको अगाडि आफुवाट गल्ति भएको भन्दै माफि मागेपछि पोखरेललाई छोडिएको छ । उनले आफुबाट गल्ती भएको र आईन्दा यस्तो गल्ती गरे कानुनी कारवाही भोग्न तयार रहेको भन्दै पीडित महिलाका अगाडि हात जोडेर माफी मागेका छन् ।
कार्यकारी अधिकृत पोखरेलले पीडित र उनका आफन्तसँग माफी माग्दा सिडिओ गौतम, एलडिओ (स्थानीय विकास अधिकारी) सुदेवकुमार पोखरेल, नेपाली सेनाको राजविराज स्थित कृष्ण दल गणका गणपति गजेन्द्र वोहोरा, सप्तरी प्रहरीका एसपी दिवेश लोहनी, सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय राजविराजका एसपी जय वहादुर खड्का, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक देवराज लिम्वु समेतको उपस्थिती थियो ।
पीडित पक्ष र स्थानीयवासीले भने पोखरेललाई पुनः सोहि नगरपालिकामा नपठाउन सिडिओ गौतमलाई आग्रह गरेका छन् । राज्यको जिम्मेवार अधिकृत भएर पनि पोखरेलले सामाजिक मर्यादा उलंघन गर्ने कार्य गरेकोले उनलाई हदैसम्मको कारवाही हुने पर्ने भन्दै स्थानीवासी र राजनितिक दलले गरेको निर्णयको पुस्तिका वुझ्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिएका छन् ।

प्रहरी चौकी घेराउ गरेका सप्तकोशी नगरपालिकावासी । तस्विरः खगेन्द्र कार्की/फत्तेपुर