राजविराज, ११ पुस । सप्तरीको मलेकपुर गाउँ विकास समितिको वडा नम्वर–५ खुरहुरिया स्थित जनता माध्यमिक विद्यालयमा आइतवार राती ९ थान कम्प्युटर सेटसहितका सामानहरु चोरी भएको छ ।
प्राविधिक तथा व्यवसायीक शिक्षाधार अन्तर्गत उक्त विद्यालयमा कम्प्युटर विज्ञान विषयको अध्यापनकालागि जडान गरिएको कम्प्युटरहरु चोरी भएको हो । यसै वर्षदेखि कक्षा ९ बाट कम्प्युटर विषयको डिप्लोमा स्तरको पढाई सुरु गरिएको उक्त विद्यालयमा जडान गरिएको कम्युटरलगायतका प्राविधिक सामानहरु चोरी भएको विद्यालयका प्रधानाध्यापक सुर्यनारायण यादवले जानकारी दिएका छन् । उनका अनुसार करिव ६ लाख रुपैयाँ मोल पर्ने कम्प्युटरसहितका सामानहरु चोरी भएपछि पढाई प्रभावित भएको छ ।
सप्तरीको फत्तेपुर, वरसाईन र खुरहुरीयामा गरी तीन ठाउँका सामुदायिक विद्यालयहरुमा कम्प्युटरको पढाई सञ्चालन हुँदैआएको छ । जनता माध्यमिक विद्यालय खुरहरियामा सञ्चालित कक्षामा ४८ छात्र–छात्रा अध्ययनरत छन् । विद्यालयमा करिब डेढ हजार छात्रछात्रा अध्ययनरत छन् ।