बृजमान तामाङ, बिरेन्द्र बजार, ८ पुस । संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोक राईले एमालेको राष्ट्रघाती दोहोरो चरित्रले मुलुक गम्भिर सङ्कटतर्फ जाने निश्चित भएको बताएका छन् ।
सप्तरीको कठौनामा शुक्रबार आदिवासी जनजाती, मधेशी बुद्धिजीविहरुसँगको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । एमालेले आफूले गरेको निर्णय समेत उल्टाउँदै राष्ट्रघाती चरित्र प्रदर्शन गरेको बताउँदै राईले भने ‘एमाले नेताहरु स्वयम्ले देशलाई संघीयतामा लानु गल्ती भयो भन्दै हिडेको छ, एमालेको राष्ट्रघाती दोहोरो चरित्रले मुलुक सङ्कटतर्फ जाने निश्चित छ ।’
एमालेले संसद अवरुद्ध गरेर आदिवासी, मधेशी, थारु, मुस्लिम लगायतका उत्पीडित समुदायको अधिकार बिरुद्ध लागेको आरोप लगाउँदै राईले एमालेको राष्ट्राती कदम बिरुद्ध सम्पूर्ण परिवर्तनकारी शक्तिहरु एकजुट भएर आन्दोलन गर्नुपर्नेमा जोड दिए । संविधान संसोधनको बिषयलाई लिएर एमालेले अनावश्यक बितण्डा मच्चाएको उल्लेख गर्दै फोरम नेपालको संसदिय दलका नेता समेत रहेको राईले यस्तो शैलीले कसैको भलो नगर्ने बताए ।
उनले एमाले सहितका प्रतिपक्षीय दल समेत संविधान संशोधनको पक्षमा आउने दाबी गर्दै सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव यथास्थितीमा मधेशी मोर्चासहितको संघीय गठबन्धनले स्वीकार गर्न नसक्ने उल्लेख गरे । संविधानमा मधेशी आदिवासी लगायत अधिकारबाट बञ्चित अन्दोलनरत समुदायको अधिकार सुनिश्ति हुने गरी संबिधान संशोधन प्रस्ताब आउनु पर्ने उनको भनाई थियो । संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादबको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा केन्द्रीय सदस्य एबम सप्तरी जिल्ला सह–ईन्चार्ज विनोद चौधरी, केन्द्रीय सदस्यहरु उमेश यादव, चित्त नारायण यादव, अशोक यादव, सुर्यनाथ यादव, सांसद लक्ष्मी चौधरी लगायत जिल्ला स्तरीय नेताहरुको समेत उपस्थिती थियो ।
थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सल्लाहकार बौली चौधरी, थाकसका सप्तरीका अध्यक्ष अरुण कुमार चौधरी, किराँत राई यायोक्खा सप्तरीका अध्यक्ष मित्र बहादुर राई सहितका आदिवासी जनजाती, मधेशी, मुस्लिम, थारु बुद्धीजिविहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रमममा नेकपा एमाले परित्याग गरी पन्सेरा गाविसका निवर्तमान उपाध्यक्ष खड्कनाथ चौधरी र फोरम लोकतान्त्रिक परित्याग गरि आदिबासी जनजाती फोरम लोकतान्त्रिक सप्तरीका उपाध्यक्ष समेत रहेको रामशरण चौधरीको नेतृत्वमा सयौ नेता कार्यकर्ता संघीय समाजबादी फोरम नेपालमा प्रबेश गरेका छन् ।