राजविराज, ४ मंसिर । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का केन्द्रीय संयोजक जयकृष्ण गोईतले इन्सेकको प्रतिवेदनमाथि लगाएको आरोपको प्रष्टिकरण गरिएको छ ।
इन्सेक सप्तरी प्रतिनीधि मनोहर पोखरेलले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै आरोपहरुको प्रष्टिकरण गरिएको हो । इन्सेकले नेपाल मानवअधिकार बर्ष पुस्तक २०१७ का लागि सप्तरी जिल्लामा संकलन गरिएका घटनाहरुको पूर्व समीक्षा गर्ने क्रममा सार्वजनिक गरिएको प्रतिवेदनप्रति ध्यानाकर्षण गराएकोमा धन्यवाद दिँदै पोखरेलले आरोपहरुको प्रष्टिकरण गरेका छन् ।
नेकपा (एमाले) को कार्यक्रम निषेध गर्ने निष्कर्षमा पुगेको बैठकको निर्णय भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ०७३ मंसिर १९ गते बिज्ञप्ति सार्वजनिक गरेकाले सोही कुरा प्रतिवेदनमा उल्लेख भएको विज्ञप्तिमा भनिएको छ । राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा २०७३ मंसिर १२ गते डिस्पोज गर्न खोजिएको कुकर बम विष्फोट हुँदा घाइते भएका श्री कृष्ण दल गणका सिपाही चन्द्रबहादुर गुरुङ, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी हवल्दार कर्णबहादुर बि.क., प्रहरीहरु बिनोद राजवंशी र राजेश तामाङको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको तथा घटनासँग सम्बन्धित तस्विरहरु इन्सेकसँग सुरक्षित रहेको जनाईएको छ । ‘बम रहेको झोलामा तीन लिटरको कुकर बमसहित जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहको पर्चा पम्पेलट फेला परेको थियो, जुन राखेको जिम्मा सोही दिन गोइतजीले लिनुभएको थियो’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘प्रहरीले बम विष्फोट गराएको आरोपमा भवानी प्रसाद अरगरिया यादव र नथुनी यादवलाई ०७३ मंसिर १८ गते गिरफ्तार गरेर मुद्दा चलाएकोले सोही कुरा प्रतिवेदनमा लेखिएको छ ।’ उनीहरुलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को कार्यकर्ता भनेर प्रतिवेदनमा कतै उल्लेख नगरिएको भन्दै इन्सेक प्रतिनीधि पोखरेलद्वारा प्रेषित विज्ञप्तिमा अगाडि भनिएको छ ‘गोइतजीले उनीहरु कार्यकर्ता होइनन् भन्नुहुन्छ, प्रहरीले हो भन्छ, त्यहीं भएर सो कुरा पुष्टि नहुन्जेल उनीहरुलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को कार्यकर्ता भनेर उल्लेख नगर्ने निष्कर्षमा इन्सेक पुगेकोले प्रतिवेदनमा पनि उच्चारण नगरिएको स्पष्ट पार्न चाहन्छौं ।’
आफू इन्सेक प्रतिनिधि कुनै पनि पार्टी वा भातृ संगठनको कुनै पनि तहको कमिटीमा र कुनै पनि पदमा नरहेको हुँदा एमालेको भातृ संगठनको जिल्ला कार्यकर्ताद्वारा सम्प्रेषित भेदभावपूर्ण, भ्रामक, आपत्तिजनक र बदनियतपूर्ण प्रतिवेदन भनि लगाईएको आरोपमा कुनै सत्यता नरहेको भनी पोखरेलले प्रष्ट्याएको छ
हेर्नुस् विस्तृत प्रेस विज्ञप्ति
Insec
प्रेस विज्ञप्ति
मितिः २०७३।०९।४ गते
जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोईतजीद्वारा मिति २०७३ पुष २ गते जारी बिज्ञप्तीमार्फत र सोही बिज्ञप्तीका आधारमा पुस ३ गते न्युज टुडे अनलाइन र पुस ४ गते न्युज टुडे दैनिकमार्फत इन्सेकले नेपाल मानवअधिकार बर्ष पुस्तक २०१७ का लागि सप्तरी जिल्लामा संकलन गरिएका घटनाहरुको पूर्व समीक्षा गर्ने क्रममा सार्वजनिक गरिएको प्रतिवेदनप्रति ध्यानाकर्षण गराउनु भएकोमा धेरै–धेरै धन्यवाद छ । हामी प्रशंसामा भन्दा टिप्पणीमा रमाउँछौं । टिप्पणीबाट सुधार हुने अपेक्षा गरेर नै पुस्तक प्रकाशन पूर्व समीक्षा गर्दछौं, पत्रपत्रिकामा समेत प्रतिवेदन पठाउँछौं र प्रतिवेदन पूर्णताका लागि थप जानकारी दिनु हुन आग्रह गर्दछौं । मोर्चा (क्रान्तिकारी) का अध्यक्ष गोइतजीले उठाउनु भएको जिज्ञासाका सन्दर्भमा निम्न बमोजिम स्पष्ट हुन आग्रह गर्दछौं ।
१. नेकपा (एमाले) को कार्यक्रम निषेध गर्ने निष्कर्षमा पुगेको बैठकको निर्णय भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ०७३ मंसिर १९ गते बिज्ञप्ति सार्वजनिक गरेकाले सोही कुरा प्रतिवेदनमा उल्लेख भएको छ ।
२. राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा २०७३ मंसिर १२ गते डिस्पोज गर्न खोजिएको कुकर बम विष्फोट हुँदा घाइते भएका श्री कृष्ण दल गणका सिपाही चन्द्रबहादुर गुरुङ, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी हवल्दार कर्णबहादुर बि.क., प्रहरीहरु बिनोद राजवंशी र राजेश तामाङको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको थियो । त्यस घटनासँग सम्बन्धित तस्विरहरु इन्सेकसँग सुरक्षित छन् । बम रहेको झोलामा तीन लिटरको कुकर बमसहित जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहको पर्चा पम्पेलट फेला परेको थियो, जुन राखेको जिम्मा सोही दिन गोइतजीले लिनुभएको थियो । प्रहरीले बम विष्फोट गराएको आरोपमा भवानी प्रसाद अरगरिया यादव र नथुनी यादवलाई ०७३ मंसिर १८ गते गिरफ्तार गरेर मुद्दा चलाएकोले सोही कुरा प्रतिवेदनमा लेखिएको छ । उनीहरुलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को कार्यकर्ता भनेर प्रतिवेदनमा कतै उल्लेख गरिएको छैन । गोइतजीले उनीहरु कार्यकर्ता होइनन् भन्नुहुन्छ, प्रहरीले हो भन्छ । त्यहीं भएर सो कुरा पुष्टि नहुन्जेल उनीहरुलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को कार्यकर्ता भनेर उल्लेख नगर्ने निष्कर्षमा इन्सेक पुगेकोले प्रतिवेदनमा पनि उच्चारण नगरिएको स्पष्ट पार्न चाहन्छौं ।
३. म इन्सेक प्रतिनिधि कुनै पनि पार्टी वा भातृ संगठनको कुनै पनि तहको कमिटीमा र कुनै पनि पदमा नरहेको हुँदा एमालेको भातृ संगठनको जिल्ला कार्यकर्ताद्वारा सम्प्रेषित भेदभावपूर्ण, भ्रामक, आपत्तिजनक र बदनियतपूर्ण प्रतिवेदन भनि लगाईएको आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पार्न चाहन्छु ।
४. मोर्चा (क्रान्तिकारी) का अध्यक्ष गोइतजीले जारी गर्ने गर्नुभएको विज्ञप्ति अन्य साथीहरुसँग मागेर पनि इन्सेकको प्रतिवेदनमा अभिलेख गर्ने गरिएको जानकारी गराउँदै सो पार्टीद्वारा आगामी दिनमा जारी गरिने मिति र हस्ताक्षरसहितका विज्ञप्तिहरु कृपया हाम्रो मेल -(manoharpokhrel@gmail.com) मा पनि पठाईदिन आग्रह गर्दछौं ।
साथै, मानव अधिकार विश्वव्यापी, नैसर्गिक र जन्मसिद्ध अधिकार भएकाले राज्य वा गैरराज्य कसैबाट पनि उल्लघंन नहोस् भन्ने कुरामा मानवअधिकार र सामाजिक न्यायका निम्ती स्थापित इन्सेक सचेत रहेको जानकारी गराउँदै प्रतिवेदनमाथि टिप्पणी र सुझावका लागि हार्दिकतापूर्वक सम्मान प्रकट गर्दछौं ।
धन्यबाद ।
मनोहरकुमार पोखरेल
(जिल्ला प्रतिनिधि)
इन्सेक, सप्तरी
मानवअधिकार र सामाजिक न्यायका निम्ति
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
सप्तरी जिल्ला प्रतिनिधि कार्यालय
राजविराज–७, मो. न. ९८५२८२१०२१