
बिनोद अधिकारी । जाडो बढेसँगै नेपालका अधिकांश बालबालिकाहरु प्राणघातक रोटा भाइरसको संक्रमणको जोखिममा रहन्छन् । रोटा भाइरसका कारण हुने झाडा पखाला (जसलाई कोल्ड डाइरिया पनि भनिन्छ) कारण नेपालमा ठूलो संख्यामा बालबालिकाको ज्यान जाने गरेको छ ।
रोटा भाइरस र नोरा भाइरस खासगरी जाडो याममा सकृय हुन्छन् । रोटा भाइरसले ५ वर्ष मुनिका बालबालिकालाई बढी प्रभावित गर्दछ र समयमा उपचार नपाएमा केहि दिनभित्रै बालबालिकाको ज्यान जानसक्छ ।
झाडापखाला गर्मीमा मात्रै लाग्छ भन्ने हाम्रो बुझाई गलत छ । जाडोमा सकृय हुने रोटा भाइरसले बालबालिकाको ज्यान लिन्छ यसको उपचारमा हेलचेक्राइँ गर्नु हुँदैन । यो भाईरसले प्राय पाँच बर्ष मुनिका बालबालिकालाई सताउने गर्दछ त्यसैले यसलाई डाक्टरहरुले ‘बेबी किलर’ पनि भन्ने गरेकाछन् । सामान्य खालको झाडा पखाला लाग्दा हुने पातलो दिसा पटक पटक हुने लक्षण यसमा पनि देखिन्छ तर, रोटा भाइरसको संक्रमण भएकाहरुमा तारन्तार बान्ता समेत हुन्छ । बान्ता भैरहने भएकाले खुवाउने औषधि प्रभावकारी नहुने र बालबालिका कमजोर हुने र जलबियोजन सँगै हुने बिबिध जटिल अबस्थाका कारण मृत्यु हुने गर्दछ ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका गाउँघरका बालबालिकाहरु यसको उच्च जोखिममा रहने गर्दछन् । अरु सामान्य झाडा पखाला, हैजा लागेको समयमा देखिने लक्षण र चिन्हहरु यसमा पनि देखिने भएकाले उपचारमा ढिलाई हुने र प्रभावकारी उपचार समयमा सुरुगर्न नसक्ने लगायतका समस्याहरु हुनसक्छ। यस भाइरसको संक्रमणका कारण हुने झाडा पखालामा जीवन जल, जिंक चक्की र मुखबाट लिइने सिरप, ट्याब्लेट तथा क्याप्सुल प्रभावकारी नहुने र बान्ता गर्दा औषधि बाहिर निस्कने भएकाले औषधि नसाबाट आइभि खोलेर दिनुपर्ने हुन्छ ।
नेपालका अस्पतालहरुमा रोटा भाइरसको संक्रमणकै कारण वर्षेनी एक तिहाइ बालबालिकाहरु अस्पताल भर्ना हुन बाध्यछन् ।धेरैजसो बालबालिकाको समयमा उपचार नपाएर ज्यान जाने गरेको छ । यसका कारण मृत्यु भएका बालबालिकालाई धेरैले झाडा पखाला वा हैजाको कारण मृत्यु भएको भनेर समेत आम रुपमा बुझ्ने गरेको पाइन्छ ।
रोटा र नोरा भाइरसको संक्रमणबाट बच्न बालबालिकालाई चिसोबाट जोगाउनु पर्छ र व्यक्तिगत सरसफाइ तथा फोषिला खानेकुरामा विशेष ध्यान दिनुपर्दछ । यसको भयावह रुपमा देखापर्ने हाम्रो देश नेपालमा त यसकालागि भएकाले विशेष खोप अभियान नै चलाउनु आवश्यक छ । नेपाल सरकारले आफ्नो राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत रोटा र नोरा भाइरस बिरुद्धको खोपलाई समेत सामेल गर्नसकेको खण्डमा यसको संक्रमणका कारण अकाल मृत्यु बरण गर्न बाध्य हजारौं बालबालिकाको ज्यान जोगाउन सकिन्छ ।
(लेखक अधिकारी मिडिया एण्ड पि आर, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी,काठमाडौंका म्यानेजर हुनुहुन्छ ।)