राजविराज, २७ मंसिर । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्थायी दरबन्दीमा वीर अस्पताल काठमाण्डौबाट डा. रञ्जित झा सरुवा भएर आएका छन् ।
शिक्षण अस्पताल काठमाण्डौबाट एमडी गरी कार्डियो एवम् डाइविटोलोजिष्ट डा. झा सोमवार अस्पतालमा हाजिर भएका हुन् । उनी वीर अस्पतालमा विगत साढे चार वर्षदेखि नेशनल एकेडेमी अफ मेडिकल साइन्समा एमडी अध्ययनरत विद्यार्थीहरुलाई अध्यापनका साथै सोही अस्पतालमा सेवा प्रदान गर्दैआएका थिए ।
पहिलो दिन अस्पतालमा हाजिर भएका उनले अस्पतालको अवस्था देखेर आफ्नो चित्त दुखेको ‘न्यूज टुडे’लाई प्रतिक्रिया दिए । अञ्चलको अवस्था सुधार गर्न तथा नमूना अस्पतालको रुपमा चिनाउने संकल्पका साथ महत्वपूर्ण सेवा सेवा त्यागेर आएको उनले बताए । नवौं तहको दरबन्दीमा आएका उनले भने ‘तीन महिनाभित्र अस्पतालमा आइसियु सेवा सञ्चालनमा ल्याउने सोच बनाएको छ, आ–आफ्नो स्थानबाट सहयोग गर्न सम्वद्ध सवै पक्षसँग आग्रह गर्दछु ।’ उनले हाजिर भए लगत्तै अञ्चल अस्पतालका विरामीहरुको जाँच समेत गरेका छन् ।
राजविराज नगरपालिका–२ निवासी डा. झा २०६३ सालमा सरकारी सेवामा प्रवेश गरी छात्रवृतिमा दिल्ली स्थित एपोलो अस्पतालबाट डाइबिटीज, कार्डियोलोजिष्ट, आइसियु, मेडिसिन विषयमा अध्ययन समेत गरिसकेका छन् । अस्पतालमा कुल २४ जना चिकित्सकको दरबन्दी रहेकोमा दुई जना विशेषज्ञ र ४ जना चिकित्सकले सेवा प्रदान गर्दैआएका छन् ।