• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तिवारीको आमरण अनसनप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

तिवारीको आमरण अनसनप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

राजविराज, २२ मंसिर । विगत १५ दिनदेखि अनसनरत विकास तिवारीको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोग काठमाण्डौको गम्भीर ध्यानाकर्षण भएको छ ।
आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रको समग्र सुधार तथा सप्तरी जिल्लाको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको व्यवस्थापन तथा सुधारलगायतका माग राखी २६ सूत्रीय माग राखी आमरण अनसनमा रहेको तिवारीको अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएकी छिन् । आमरण अनसनको सम्बन्धमा आयोगले अनुगमन गरिरहेको भन्दै प्रेस विज्ञप्तिमा भनिएको छ ‘तिवारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गईरहेको आयोगको अनुगमनको क्रममा बुझिएको छ ।’
विरोधको स्वरुप जस्तोसुकै भए पनि अनसनरत तिवारीको जीवन रक्षा एवं स्वास्थ्यप्रति संवेदनशील हुन, सार्थक वार्ता र संवादबाट समस्याको समाधान खोज्न आयोगले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । अनुगमनको क्रममा सरकारी अस्पतालका भवनहरु तथा उपचारका उपकरणहरु जीर्ण बन्दै गएको, पिउने पानीको अभाव, फोहोरको सही व्यवस्थापन नहँुदा अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिने लगायतका समस्याहरु देखिएकोले अस्पतालहरुमा स्वच्छ पीउने पानी, खाना, शौचालय लगायत भौतिक सामग्रीहरुको उपलब्धता र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गर्न आयोगले नेपाल सरकारसँग आग्रह गरेको छ ।