• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तिवारीको आमरण अनसनप्रति राष्ट्रपति भण्डारी र पूर्व प्रधानमन्त्री भट्टराईको चासो

तिवारीको आमरण अनसनप्रति राष्ट्रपति भण्डारी र पूर्व प्रधानमन्त्री भट्टराईको चासो

राजविराज, २२ मंसिर । विगत दुई सातादेखि आमरण अनसनमा रहेका विकास तिवारीको स्वास्थ्य अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेका छन् ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा नेपाल सद्भावना पार्टी(गजेन्द्रवादी)का अध्यक्ष तिवारीले गत मंसिर ८ गतेदेखि आमरण अनसनलाई निरन्तरता दिँदैआएका हुन् । अञ्चल अस्पतालको सुधारको माग गर्दैै आमरण अनसनमा रहेका तिवारीको स्वास्थ्य अवस्थाबारे बुधवार राष्ट्रपति भण्डारीले चासो व्यक्त गरेका छन् । विभिन्न सञ्चारमाध्यमहरुमा आएको समाचारहरुबाट तिवारीको विषयमा जानकारी पाएपछि राष्ट्रपति भण्डारीले माग र स्वास्थ्य अवस्थाको विषयमा स्वकीय सचिव जिबछ साहबाट जानकारी लिएको जनाईएको छ । राष्ट्रपति भण्डारीको आदेशानुसार स्वकीय सचिव साहले तिवारीको आन्दोलनप्रति गम्भीर बन्न तथा सम्वाद तथा सहमतीबाट समस्या समाधान गर्न स्वास्थ्य मन्त्री गगन थापाको बुधवारै ध्यानाकर्षण गराएका छन् ।
यसैगरी र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत सामाजिक सञ्जाल मार्फत चासो व्यक्त गरेका छन् । फेसबुकमा उनले दुई दिन अगाडि यस्तो लेखेका छन् ‘काठमाण्डौमा डा के सी को अनसन टुंगियो, तर सप्तरीको राजविराज अस्पताल अगाडि गरीबहरूको स्वस्थ्योपचारमा भइरहेको हेलचक्राइँ विरूद्ध र सरकारी अस्पतालहरूको सुधारको माग राखी १३ दिनदेखि आमरण अनसनमा बसेका विकास तिवारीको माग कसैले सुनेको छैन, सबैले उनको पक्षमा आवाजÞ उठाउँ, सरकारले छिटो उनको माग पूरा गरोस् र उनको जीवनरक्षा गरोस् ।’
यता आमरण अनसनमा रहेका तिवारीले स्वास्थ्यमन्त्री गगन थापा अञ्चल अस्पताल राजविराज आए मात्र आफूले अनसन तोड्ने बताएका छन् । अस्पतालको दुरावस्थाबारे छानविन गर्न डा. गोविन्द केसीको संयोजकत्वमा नागरिक समाजका अगुवाहरुसहितको आयोग गठन गर्नुपर्ने माग अघि सारेका छन् ।