राजविराज, १९ साउन । धर्मी हल्फा महिला विकास क्लव लालापट्टि सप्तरीको संयोजनमा हेल्प लाइन नेटवर्क काठमाण्डौंको सहयोगमा बाढी पीडितलाई लक्षित गरी जिल्लाको तीन स्थानमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो ।
शिविरमा मेडिककेयर र ओम हस्पिटल काठमाण्डौंका डा. डिलजान मन्सुर र डा. वारदा कोइरालाको नेतृत्वमा १२ सदस्यीय चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । बाढिले कष्टकर जीवन विताउन तथा विभिन्न रोगले ग्रस्त हुन बाध्य भएका पीडितहरुलाई मानविय संवेदनशीलताको आधारमा स्वास्थ्य शिविरको आयोजना गरिएको धर्मी हल्फा महिला विकास क्लवका अध्यक्ष ईन्जिनियर सुर्यनारायण यादवले वताए ।
शिविरमा बाढिग्रस्त रम्पुरा मलहनिया, तिलाठि, सकरपुरा, को.मधेपुरा, को.बर्साइन, लौनिया र कोईलाडि गाविसका विरामीहरु उपचारकालागि आउने गरेको यादवले जानकारी दिए । तीन दिनसम्म चल्ने शिविरमा स्वास्थ्य सेवाका साथै औषधि र साबुन समेत निःशुल्क उपलब्ध गराईएको छ ।
धर्मी हल्फा महिला विकास क्लवकै संस्थाको अगुवाईमा रम्पुरा मलहनीयाको वाढि पीडित दलित वस्तीमा च्युरा, मुरही, चामल, भटमास लगायतका राहत सामग्री वितरण गरिएको छ ।