• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तिलाठी घटनामा राजनीतिक रङ्ग नदिन फोरमको आग्रह

तिलाठी घटनामा राजनीतिक रङ्ग नदिन फोरमको आग्रह

राजविराज, १८ साउन । सप्तरीको तिलाठी घटनालाई राजनीतिक रङ्ग दिन खोजेकोप्रति आपत्ति जनाउँदै कुटनीतिक पहल गरी समस्याको समाधान खोज्न सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीले आग्रह गरेको छ ।
फोरमका सप्तरीका अध्यक्ष दिनेशकुमार यादवले मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दैै सम्वन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । नेपाल–भारत सिमा क्षेत्रमा रहेका दुवैतर्फ सर्वसाधारण जनता बीच सुमधुर सम्बन्ध स्थापित गर्नु अहिलेको आवश्यक्ता भएको विज्ञप्तिमा उल्लेख छ । राज्यले सुनियोजित रुपमा मधेशका सिमा क्षेत्रहरुमा स्थानिय मधेशी समुदाय र छिमेकी भारतीय गाउँलेहरु बीचको सम्बन्धलाई समेत खलवल्याउन खोजेको फोरमको ठहर छ ।
घटना पश्चात केहि राजनीतिक दल तथा तीनका भातृ संगठनहरुले काठमाण्डौदेखि घटना स्थलसम्ममा उक्त घटनालाई अतिरञ्जित गर्नुका साथै आगोमा घ्यू थप्ने काम गरिराखेको भन्दै यस्ता कार्य नगर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराईएको छ । ‘भारतसँग मधेशी सामाजिक, सांस्कृतिक, पारिवारीक र परम्परागत सम्बन्ध रहेको छ’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘सिमा क्षेत्रमा रहेका छिमेकीलाई हामी चाहे नचाहे बदलिन सकिन्न । हामी एक अर्काको पुरक नै बनेर बस्नु पर्ने हुन्छ ।’
‘साउन १३ गते सप्तरीको तिलाठी तथा भारत विहारको सुपौल जिल्ला अन्तर्गत कुनौली ग्राम पञ्चायत बीच रहेको दशगज्जा क्षेत्रमा बाँध निर्माणको विषयलाई लिएर दुवै तर्फका स्थानियहरु बीच भएको झडपका घटना प्रति हामी अत्यन्तै गम्भीर छौं’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘प्रशासनको निरीहताका बाबजुद सिमा क्षेत्रमा भारतीय पक्षले एकतर्फि रुपमा बनाउन लागेको बाँध निर्माण कार्य रोक्न तिलाठी लगायत त्यस क्षेत्रका नेपालीहरुले देखाएको साहस प्रशंसनीय छ ।
आफ्नो भुमिको रक्षा गर्नु, स्वाभिमानको रक्षा गर्नु प्रत्येक देशवासीको कर्तव्य भएको भन्दै सिमा क्षेत्रमा जनता लडाएर सिमा समस्या समाधान गर्न नसकिने फोरमले ठहर गरेको छ । तिलाठीवासी लगायत उक्त क्षेत्रका नेपालीहरुले झण्डै चार दशकदेखि बाँधको विषयमा आवाज उठाउँदै आएको चर्चा गर्दै प्रेस विज्ञप्तिमा भनिएको छ ‘दशगज्जा क्षेत्रमा रहेको विवादित बाँध तथा खाँडो नदी लगायतको निकासवारे सरकार गम्भीर नहुँदा त्यस क्षेत्रका बासिन्दाहरु बर्षेनी डुवानमा पर्दै आएको तथ्य समेत कसैवाट लुकेको छैन ।’
दशगज्जा तथा सिमा क्षेत्रको समस्या समाधानको जिम्मेवारी सरकारको भएको भन्दै निरीहताका कारण उक्त समस्या बर्षौदेखि समाधान हुन नसकेकोले उक्त क्षेत्रका बासिन्दाहरु समस्या झेल्दै आएको प्रेस विज्ञप्तिमा जनाईएको छ । साउन १३ गते तिलाठी स्थित दशगज्जा क्षेत्रमा सप्तरीका प्रमुख जिल्ला अधिकारी लगायत प्रशासन तथा सुरक्षा निकायका अधिकारीहरुका साथै पारी भारत तर्फका सुरक्षाकर्मीहरु समेतको बाक्लो उपस्थितीमा दुवै तर्फका स्थानियहरु बीच झडप भएको भन्दै दुवैतर्फ प्रशासनिक अधिकारी र सुरक्षा निकायका जिम्मेवार पदाधिकारी समेतको उपस्थितिमा झडप कसरी हुन गएको हो ? भनी प्रश्न गर्दै फोरम सप्तरीका अध्यक्ष यादवले छानविनको माग गरेका छन् ।
शान्ति सुरक्षा कायम गर्नुका साथै दुई देश बीचको सम्बन्ध सुदृढ राख्ने जिम्मेवारी समेत प्रशासनको जसमा दुवै तिरका प्रशासन चुकेको हाम्रो ठहर छ । त्यसर्थ तिलाठी दशगज्जा क्षेत्रमा भएको उक्त घटनाको छानविनका लागि छानविन समिती गठन गरी दोषी पाईएमा कारवाहि हुनुपर्ने समेत माग गरिएको छ ।