राजविराज, ५ फागुन । सप्तरीको लोहजारा गा.वि.स. वडा नम्वर–९ स्थित बाबा बनसखण्डी ठेलिया मठ प्राङ्गणमा बुधवार एक कार्यक्रमका बीच गुरुकुल विद्यालयको शिलान्यास गरियो ।
कञ्चनरुप नगरपालिका–११ स्थित सर्वोदय नेपाल नामक संस्थाका अध्यक्ष काशीनाथ जोशीको विशेष पहलमा गुरुकुलको शिलान्यास गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालकी साँसद लक्ष्मी कुमारी चौधरी, पार्टीका केन्द्रीय सदस्य सूर्यनाथ यादव ‘सुभाष’, आनन्दी मुखिया, अध्यक्ष जोशीलगायतले संयुक्त रुपमा उक्त विद्यालयको शिलान्यास गरेका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि चौधरीले मधेशको शिक्षा क्षेत्रको अवस्था जर्जर बन्दैगईरहेको भन्दै राज्यपक्षले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । धार्मिक एवम् वैदिक शिक्षाको आवश्कतामाथि जोड दिँदै राज्पक्षले समेत गुरुकुल विद्यालयहरुमा लगानी गर्नुपर्नेमा आवश्यकता औंल्याइन् ।
मठ संरक्षण समितिका अध्यक्ष मुखियाको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा संघीय समाजवादी फोरमका नेता चन्द्रनारायण यादव, समाजसेवी नन्दशंकर लगरवार, लोहजरा गाविसका पूर्व अध्यक्ष बेचन मण्डल, फत्तेपुर उच्च माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तीर्थराज उपाध्याय, ओद्राहा उच्च माध्यमिक विद्यालयका शिक्षक शिवनारायण यादवलगायतले मन्तव्य व्यक्त गरे ।
‘भेडिया मठ’को नाम समेतबाट प्रख्यात रहेको बनसखण्डी मन्दिर खडेरी पर्दा पानीका लागि अन्तिम पुकारा गर्ने आस्था स्थल समेत रहने गरेको छ । रोपाइँको समयमा पानी नपरे वर्षाको माग गर्दै सदरमुकाम स्थित विभिन्न कार्यालयका प्रमुखदेखि जिल्लाका नेताहरुसमेत मिलेर उक्त मठमा पूजा गर्ने प्रचलन अहिलेसम्म कायमै रहेको छ ।