राजविराज, ४ फागुन । सप्तरीको मधुपट्टी गा.वि.स.वडा नम्वर– ९ कदमहा चौकमा स्थित पुर्व पश्चिम राजमार्ग चेक प्वाईन्टमा मङ्गलवार अवैध बोलेरो गाडी पक्राउ परेको छ ।
पश्चिमबाट पुर्वतर्फ आइरहेको सिल्भर रङ्गको बा १० च ४६४९ नम्वर लेखिएको बोलेरो गाडी पक्राउ परेको हो । चोरी निकासी गरिएको काल्पनिक नम्वरको उक्त गाडी गोप्य सूचनाका आधारमा उक्त गाडी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
रोकेर चेकजाँच गर्न लाग्दा चालकले गाडी सडकमै छाडेर फरार भएको र उक्त गाडीमा कुनै आधिकारिक कागजातसमेत नरहेको पाईएको प्रहरी निरीषक सुरज खडकाले जानकारी दिएका छन् । मौखिक रुपमा सम्बन्धित यातायात व्यवस्था कार्यालयसँग समन्वय गर्दा रेकर्डमा उल्लेख नभएको पाईएकोले उक्त गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीकालागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाएको प्रहरी निरीक्षक खडकाले बताए ।