राजविराज, ४ फागुन । मैथिली साहित्य परिषद् राजविराजले भव्यताका साथ विद्यापति स्मृति पर्व समारोह र अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईने भएको छ ।
आन्दोलनका कारण राजविराज क्षेत्रमा स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी भएको अवस्था तथा आन्दोलनकै क्रममा राजविराजसहित जिल्लाको अन्य स्थानहरुमा समेत आन्दोलनकारीको मृत्यूका कारण विद्यापति स्मृति दिवस समारोहका सम्पूर्ण कार्यक्रम स्थगन गरेको थियो । परिषद्को आइतवार सम्पन्न बैठकले विद्यापति स्मृति पर्वका अवसरमा फागुन ८ गते शनिवार मैथिली भवनमा बृहत मैथिली साहित्यिक गोष्ठि आयोजना गरिने परिषद्का अध्यक्ष शुभचन्द्र झा र सचिव श्यामसुन्दर यादवद्वारा मङ्गलवार प्रेषित विज्ञप्तिमा जनाईएको छ ।
फागुन ९ गते राजविराज स्थित पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालयबाट झाँकी प्रदर्शन गर्दै मैथिली भवनमा अन्तरक्रिया तथा श्रद्धाञ्जलीसभाको आयोजना गरिने जनाईएको छ । सोही अवसरमा शिवदत्त मिश्र स्मृति मैथिली पुरस्कार, विजयेन्द्र–विनोद मैथिली कला संस्कृति पुरस्कार समर्पण तथा सम्मान एवम् आजिवन सदस्यता प्रमाण–पत्र वितरण गरिने कार्यक्रम रहेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त कार्यक्रमहरुमा सहभागिताकालागि आजीवन सदस्य, मैथिली अनुरागी, बुद्धिजीवी, सञ्चारकर्मीसहित सर्वसाधारणसँग प्रेस विज्ञप्ति मार्फत परिषद्को तर्फबाट आग्रह गरिएको छ ।
मैथिली साहित्य परिषदका पूर्व अध्यक्ष स्व. डा. पिताम्बर झाकी धर्मपत्नी एवम् परिषदका आजीवन सदस्य राजविराज–३ निवासी श्रीमती चन्द्रलता देवी झा र शिवदत्त मिश्र स्मृति मैथिली पुरस्कारबाट सम्मानित सिरहाको लहान निवासी मैथिली साहित्यकार चन्द्रशेखर लाल ‘शेखर’ को दुःखद निधनप्रति परिषद शोक व्यक्त गरेको छ । दिवङ्गत आत्माको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनक प्रति मैथिली साहित्य परिषद राजविराजले हार्दिक सम्वेदना व्यक्त गरेको छ ।