राजविराज, ३ फागुन । जिल्ला जन स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय झाले आगामी फागुन ९ गते दादुरा–रुबेला खोप अभियानलाई सफल पार्न जिल्लावासीसँग आग्रह गरेका छन् ।
जनस्वास्थ्य कार्यालयमा सोमवार आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । अभियान अन्तर्गत आ–आफ्ना नानीहरुलाई तोकिएको खोपकेन्द्रमा लगी औषधी खुवाउन आग्रह गर्दै उनले अभियानलाई सफल पार्न आग्रह गरे ।
कार्यक्रममा फागुन ९ गतेदेखि जारी पहिलो चरणको कार्यक्रम अन्तर्गत ९ महिनादेखि ५ वर्ष मुनिका जिल्लाका एक लाख ५ हजार बालबालिकालाई दादुरा–रुबेला खोप दिईने जनस्वास्थ्य प्रमुख झाले बताए । उनका अनुसार जन्मदेखि ५ वर्ष मुनिका १ लाख १६ हजारलाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।
अभियानकालागि भ्याक्सिनेटर ४ सय ६५ जना, स्वास्थ्य कार्यकर्ता ५ सय १७ जना, स्वयम्सेविका १ हजार ७८ जना, सुपरभाइजर १ सय ३० जना परिचालन गरिएको उनले जानकारी दिए । जिल्लामा १ हजार २६ ओटा र राजविराज नगरपालिकामा ३४ ओटा खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य प्रमुख झाले जानकारी दिए ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको प्रतिनीधिमुलक सहभागिता रहेको थियो । सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका सचिव ओमप्रकाश साहले अभियान सफलताको कामना गर्दै धन्यवाद ज्ञापन गरे ।