• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पूर्व प्रधानमन्त्री कोइरालाको निधनमा दुख व्यक्त

पूर्व प्रधानमन्त्री कोइरालाको निधनमा दुख व्यक्त

राजविराज, २६ माघ । नेपालका पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति विभिन्न विशिष्ट व्यक्तित्वहरुले दुःख व्यक्त गरेका छन् ।
गृह जिल्ला सप्तरीको योगिनिया आएका उप–सभामुख गङ्गा प्रसाद यादवले कोइरालाको निधनले आफु अति मर्माहित भएको भन्दै राष्ट्रले लोकतन्त्रप्रति प्रतिबद्ध, लोकतन्त्रिक नेता गुमाएको बताएका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति कोइरालाले संविधानसभाबाट संविधान बनाएर देशलाई शान्ति र प्रगतिको बाटोमा डोर्याउन अग्रणी भूमिका रहेको भन्दै उनको योगदान स्मरणीय रहने बताए । उप–सभामुख यादवले कोइरालाप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवारप्रति सम्वेदना प्रकट गरेका छन् ।
नेपाली काँग्रेसका सभापति एवंम पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनले नेपालको राजनीतिक वृतको एउटा संस्कारको अवसान भएको वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले बताएका छन् । २०४७ सालमा प्रजातन्त्र पुनःस्थापना पछि, नेपालको राजनीतिक वृतमा पलाएको सत्ता लिप्सा, धनलिप्सा र व्यक्तिगत सुखभोगवादको राजनीति माँझ सर्वोच्च कार्यकारी पदमा पुगेका कृष्णप्रसाद भट्टराई पछि सुशील कोइराला, दोश्रो राजनीतिज्ञको रुपमा स्थापित भएको नेता मण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जसको राजनीतिक सदाचार, सादगीपूर्ण, जीवनवृत, बुढानिलकंठ, बोहराटार, मंडीखाटार, बालकोट, कोटेश्वर, डल्लु एवंम लाजिम्पाट जस्ता ठाउँबाट राजनीति गर्ने नेतृत्वलाई सधै मौन व्यंग गरिराखेको भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ ‘नेपालको भ्रष्ट कर्मचारीका  कारण सदाचारको राजनीति गर्ने पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीलाई कंलकित गर्ने काम गरेकै हो ।’
कोइराला परिवारको राजनीतिक बिरासतबाट सुशील कोइराला उच्चपद प्राप्त गरेको आमधारणा रहेको छ । तर मैले प्रजातान्त्रिक आन्दोलनको तीन दशक लामो कालखण्डमा प्रजातन्त्रप्रति उनको दृढ निश्चय र २०४७ पछि उत्पन्न विकृति बिरुद्धमा पार्टी भित्रको असन्तुष्टि देखेको उनीद्वारा विज्ञप्तिमा भनिएको छ । देशको संक्रमणकालिन अवस्था र प्रजातन्त्र बिरोधी राजनीतिक विचार धाराको वर्चश्व रहेको अवस्थामा कोइरालाको निधन प्रजातान्त्रिक पक्षको लागि अपुरनीय क्षति भएको भन्दै राजनीतिज्ञ मण्डलले कोइरालाको आत्माको चिरशान्ति एवं शोक सन्तप्त उनको परिवारजन तथा सहयोगीप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
मधेशी मोर्चा सप्तरीका संयोजक कपिल देव यादवको अध्यक्षतामा मङ्गलवार बसेको बैठकले काँग्रेसका सभापति सुशील प्रसाद कोइरालाको असामयिक निधन प्रति दुख व्यक्त गरेको छ । सोही बैठकले सप्तरीबासीलाई हार्दिक धन्यवाद ज्ञापन व्यक्त गर्दै ६ महिनाको मधेश आन्दोलनमा सहभागी शहीद एवम् घाइते परिवार प्रति हार्दिक सम्वेदना व्यक्त गरेको छ । मोर्चाको तर्फबाट सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले मधेश आन्दोलनमा विभिन्न संघ–संगठन, नागरिक समाज, कर्मचारी, शिक्षक, युवा विद्यार्थी, किसान, व्यापारी, महिला, मजदुर, यातायातकर्मी लगायत सप्तरीबासीमा धन्यवाद ज्ञापन गरेको छ । सोही बैठकले मधेश आन्दोलनको क्रममा सरकारी कार्यालयहरु बन्द रहेकोले राजश्व संकलन गर्ने कार्यालयहरुमा लाग्ने जरिवाना मिनाहा गरी मात्र कर बुझ्न बुझाउनको लागि कार्यालयसहित सेवाग्राहीहरुको ध्यानाकर्षण गराईएको छ ।
यसै बीच नेपाल प्रेस युनियन सप्तरीले समेत कोइरालाको निधनमा मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन् ।  आफूहरुका अभिभावक एवं नेपाली काँग्रेसका पार्टी सभापति कोइरालालाई गुमाउँदा आफूहरु शोकविह्वल बनेको जारी विज्ञप्तिमा उल्लेख छ ।
अल्पसंख्यक समुदाय स्वाभिमान समितिका अध्यक्ष उमेश कुमार साह ‘कमाण्डो’ले समेत पूर्वप्रधानमन्त्री कोइरालाको निधनले राष्ट्रले कुशल अभिभावक गुमाएको बताएका छन् । कोइरालाको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति उनले हार्दिक समवेदना व्यक्त गरेका छन् ।